दमासकस– सिरियाको गुटाबाट झण्डै ५ हजार विद्रोही र उनीहरुका परिवारजन बाहिरिएका छन्।
राज्यद्वारा सञ्चालित समाचार संस्था सानाले दिएको जानकारीअनुसार शुक्रबार राति विद्रोही र उनीहरुका पारिवारिक सदस्य गरी कुल ४ हजार ८ सय ४९ जनाले गुटा छाडेका हुन्।
विद्रोहीहरुको पक्कड रहेको भनिएको गुटा क्षेत्रबाटै यसरी विद्रोहीहरु विस्थापित भएको यो पछिल्लो घटना हो। यसअघि यस्तै घटना सात चरणमा भएको थियो।
लगातारका हिंसात्मक घटनाका कारण लाखभन्दा बढी सर्वसाधारण सुरक्षित ठाउँ खोज्दै गुटाबाट विस्थापित भइरहेका बेला अहिले विद्रोहीहरु पनि विस्थापित हुन लागेका हुन्। एक दिन अगाडि मात्रै पनि सिरियाको राजधानी दमासकसबाट पूर्वीभागमा पर्ने गुटा क्षेत्रबाट विद्रोही र उनका परिवारसहित करिब ७ हजार ३ सय जना सुरक्षित स्थानतर्फ सरेका थिए।

उनीहरुले गुटा क्षेत्र छोड्न पाउने विकल्प सरकारले दिएको छ। सिरियाली विद्रोही समूह र सिरियाली सरकारबीच उनीहरुलाई गुटा छोडेर अन्यत्रै बस्न दिने सम्झौता भएको बताइएको छ।
हाल रुसको समर्थन रहेको सिरियाली सैन्य बलले विद्रोहीको नियन्त्रणमा रहेको ९० प्रतिशत क्षेत्र नियन्त्रणमा लिएको दाबी गर्दै आएको छ। केही महिनायता पूर्वीगुटामा रुसी समर्थनमा सिरियाली सैन्यले गर्दै आएको हवाई कारबाहीमा परी सयौँ सर्वसाधारणले ज्यान गुमाएपछि रुस र सिरिया सरकारले त्यहाँ युद्ध विरामको घोषणा गरेका थिए।
सिरियामा राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै सन् २०११ मा जनआन्दोलन शुरु भएको थियो। त्यसपछि शुरु भएको गृहयुद्ध अहिले चलिरहेको हो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।