नयाँ दिल्ली– प्रधानन्यायाधीश दिपक मिश्राको विरुद्ध महाअभियोग ल्याउन भारतीय कंग्रेसले हस्ताक्षर संकलन कार्य सुरु गरेको छ।
संसदको प्रमुख विपक्षी दल समेत रहेको कंग्रेसले विभिन्न दलका सांसदहरुको हस्ताक्षर जुटाउने कार्य सुरु गरेको भारतका विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन्। तर कंग्रेसले सो कुराको हालसम्म आधिकारिक रुपमा जानकारी दिएको छैन।
राष्ट्रवादी कंग्रेस पार्टीका नेता माजिद मेननले संसदको सबैभन्दा ठूलो विपक्षी पार्टी कंग्रेसले प्रधानन्यायाधिशविरुद्ध महाअभियोग लगाउन प्रक्रिया सुरु गरेको बताए। हालसम्म कति सांसदको हस्ताक्षर संकलन भएको छ भन्ने प्रश्नमा उनले भने,‘यो प्रश्न मलाई भन्दा पनि कंग्रेसका नेतालाई सोध्नुपर्ला।’
राष्ट्रवादी कंग्रेसका अर्का सांसद डिपी त्रिपाठीले भारतीय कंग्रेसमार्फत नै आफुले सो प्रस्तावको पक्षमा हस्ताक्षर गरेको बताए। उनले भने,‘यो केवल भ्रष्ट्राचार होइन। यो आरोप ज्यादै गम्भीर छ। पछिल्लो समय सर्वोच्च अदालतका ४ न्यायाधीशले प्रधानन्यायाधीशको विरुद्धमा जुन पत्र लेखेका थिए। यसबाट के बुझ्न सकिन्छ भन्दा न्यायपालिकाको स्वतन्त्रतामाथि नै खतरा उब्जिएको छ।’
नेता त्रिपाठीले सो प्रस्तावमा राष्ट्रवादी कंग्रेस पार्टी, भारतीय कम्युनिष्ट पार्टी र माक्र्सवादी कम्युनिष्ट पार्टीका सांसदहरुले पनि हस्ताक्षर गरेको बताइएको छ।
भारतीय संविधानअनुसार महाअभियोग प्रस्ताव संसदमा पेश गर्न लोकसभामा १ सय तथा राज्यसभामा ५० सांसदको हस्ताक्षर आवश्यक रहन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।