इटहरी– तमोरको पानी पनि त्यति चिसो हुँदैन जति पहिलो पटक र्याफ्टिङ गर्न जानेको मन चिसिन्छ। खोलामा पसेपछि के होला? कथम्कदाचित लडियो भने? बीचैमा चिप्लिएर खसियो भने? यस्ता अनगिन्ती प्रश्नले तन–मन चिसो बनाइदिन्छ। त्योसँगै कस्तो हुन्छ होला? कतिखेर पानीमा पस्ने होला? पानीको छालसँग कसरी जोगिने होला? जस्ता प्रश्न पनि मनमा खेलिरहन्छन्।
यस्तै, प्रश्नहरुको बीचमा मन अत्यन्तै रोमाञ्चित भइरहेको हुन्छ। जब ‘रिभर गाइड’ले र्याफ्टिङको विषयमा जानकारी गराउँछन् तब मनका छालहरु यसरी उर्लिन्छन्, त्यति त अगाडि देखिएको नदीको छाल पनि उर्लिएको हुँदैन।
हेल्मेट र लाइफ ज्याकेट लगाएर ‘र्याफ्ट’मा चडेपछि मनमा उब्जिएका तमाम शंका बिस्तारै हराउँदै जान थाल्छन्। र्याफ्ट नदीमा तैरिँदै जाँदा डरको ठाउँ आनन्दले लिन्छ। नजिकिँदै गरेको छाल देखेपछि रिभर गाइडले सबैलाइ सतर्क हुन आग्रह गर्छन्। त्यतिबेला फेरि सबैको मनमा एउटै भाव देखापर्छ अब के हुने हो? तर केही हुँदैन, बरु पानीको छालले शरीर भिजाइदिँदा एकप्रकारको रोमाञ्चकता थपिन्छ। त्यसपछि सबैले गर्ने कुरा एउटै हुन्छ– कतिखेर अर्को छाल आउला र रमाइलो होला।

लडिन्छ होला भन्दाभन्दै नलड्नु, डुब्छ होला भन्दाभन्दै नडुब्नु बीचको एडेभेन्चरमै र्याफ्टिङ गर्नेहरुले मजा लिन्छन्।
र्याफ्टिङलाई साहसिक खेलका रुपमा लिइन्छ। भोटेकाशी, त्रिशुली हुँदै अहिले पूर्वि नेपालमा र्याफ्टिङ लोकप्रिय बन्दै गइरहेकोछ। र्याफ्टिङको पहिलो शर्त नै बचाउने भएकाले यो भरपर्दो मानिन्छ।
तमोर नदीमा र्याफ्टिङको सम्भावना बढ्दै गएपछि ‘तमोर रिभर एडभेन्चर’ र ‘रिभर डिप र्याफ्टिङ’ दुई कम्पनीले र्याफ्टिङ सञ्चालन गरिरहेका छन्।
तमोर रिभर विगत १२ वर्षदेखि सञ्चालनमा छ भने रिभर डिपले २ वर्ष अघिदेखि सेवा सञ्चालनमा ल्याएको हो। सुरुका केही वर्ष पर्यटक पाउन निकै गाह्रो भएको रिभर र्याफ्टिङका सञ्चालक मदन ढकाल बताउँछन्। ‘सुरु–सुरुमा र्याफ्टिङ गर्ने वार्षिक एक सय जना पर्यटक पनि पाउन मुस्किल थियो,’ उनले भने, ‘हालका वर्षहरुमा एक हजारभन्दा बढी पर्यटकलाई र्याफ्टिङ गराउँदै आएका छौं।’ उनले पहिला ग्राहक खोज्नुपर्ने अवस्था भएकोमा अहिले ग्राहकले खोज्दै आउने अवस्था आएको बताए।

तमोरको मूलघाटबाट सुनसरीको चतरासम्म र्याफ्टिङ गर्न धेरै पर्यटक आउने गरेको रिभर डिपका सञ्चालक सुरेश बस्नेत बताउँछन्। उनका अनुसार र्याफ्टिङको विषयमा धेरैलाई थाहा नहुनु र थाहा हुनेहरु पनि यो डरलाग्दो हुन्छ, नदीले बगाउँछ भन्ने भ्रमबाट मुक्त हुन नसक्नुले अझै सोचेजस्तो पर्यटक आउन सकेका छैनन्।
मूलघाटबाट चतरासम्म मात्र होइन। ताप्लेजुङको माथिल्लो फेदीबाट चतरा सम्म ६ दिन र्याफ्टिङ गर्न सकिन्छ। त्यस्तै, सप्तकोशी मध्येको सबैभन्दा ठूलो अरुण नदीमा तुम्लिङटारबाट चतरासम्म दुई दिन र्याफ्टिङ गर्न सकिन्छ। यसैगरी, सुनकोशीमा हर्कपुरबाट चतरासम्म ३ दिन र्याफ्टिङ गर्न सकिन्छ।

रिभर डिपका सञ्चालक बस्नेछ भन्छन्, ‘तमोरको मूलघाटबाट चतरासम्म सुनकोशी, अरुण र तमोरको दोभान त्रिवेणीमा एक रात बास बसेर पनि र्याफ्टिङ गर्न सकिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।