काठमाडौं– रसुवाको भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरधुरीले जनही ४५ हजार रुपैयाँका दरले नगद राहत पाएका छन्।
सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँगको समन्वयमा पहिचान भएका बाढीपीडित परिवारलाई रकम उपलब्ध गराइएको सरकारले जनाएको छ।
हालसम्म रसुवाका पाँच, नुवाकोटका चार र धादिङका दुई गरी ११ स्थानीय तहका प्रभावित परिवारले राहत पाएका छन्।
सरकारका अनुसार तथ्यांक प्रमाणीकरण हुन बाँकी रहेका करिब १ हजार ४०० घरधुरीलाई पनि तीन दिनभित्र राहत वितरण गरिसक्ने तयारी छ।
गत असोज २३ गते केन्द्रसहित तीनवटै जिल्लाका मनसुन प्रतिकार्य कमाण्ड पोस्टको संयुक्त बैठकले विपद् प्रभावित परिवारको पहिचान, लाभग्राही विवरणको प्रमाणीकरण तथा शीघ्र पुनर्लाभका कामलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो।
रेडक्रससहित अन्य विकास साझेदारले पनि प्रभावितलाई नगद सहयोग गर्न चाहेकाले दोहोरो राहत वितरण रोक्न सरकारले एकद्वार प्रणाली अपनाएको छ। ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ अनुसार कुनै पनि प्रभावित परिवार नछुट्ने र एउटै परिवारले दोहोरो सहायता नपाउने गरी राहत वितरण गर्न स्थानीय तह तथा सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
यसैबीच, बाढी प्रभावितहरूको दीर्घकालीन पुनर्स्थापना र व्यवस्थापनका लागि पनि सरकारले काम तीव्र बनाएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।