दार्चुला– सुदूर पश्चिमको विकट मानिने दार्चुलास्थित हुतिगाउँ धार्मिक पर्यटनका लागि प्रचुर सम्भावना बोकेको क्षेत्र हो। तर, प्रचारको अभावमा यस क्षेत्रले सोचेजति चर्चा पाउन सकेको छैन।
तर, यहाँका स्थानीयवासी विगत केही वर्षयतादेखि आफ्नो संस्कृतिमार्फत यो क्षेत्रलाई चिनाउने अभियानमा जुटेका छन्। २०४१ सालमा मनाइएको ‘नभा’ पर्व अर्थात नवरात्रि ३३ वर्षपछि भर्खरै धुमधामका साथ मनाइएको छ।
स्थानीय भाषामा चैते दशैंलाई ‘नभा’ पर्व भनिन्छ। महायज्ञ गर्ने चलन रहेको यस पर्वमा चैते दशैंको ९ दिन २४सै घन्टा १७ जना पण्डितले १८ हजार ३ सय ६० मन्त्र उच्चारण गरिन्छ।
हिन्दु र बौद्धमार्गीका लागि पवित्र तीर्थस्थल मानिने कैलाश मानसरोवरको मुख्य प्रवेशद्वार मानिने दार्चुलाको हुतीगाउँस्थित ब्रह्मदेवताको मन्दिरमा यसपालि पनि हजारौंको संख्यामा श्रद्धालु जम्मा भएका थिए। ४ वर्षअघि यही गाउँमा पहिलो पल्ट महायज्ञको आयोजना गर्दा १७ हजार श्रद्धालुले पूजाआजा गरेका थिए।
दार्चुलामा मुख्यतः दुई वटा जात्रा विशेष मानिन्छ। ‘नभा’ पर्व जस्तै यहाँ ‘जगेनी जात्रा’ पनि विशेष रुपमा मनाउने चलन छ। यो जात्रामा विशेषगरी ब्रह्माको पूजाअर्चना गर्नुका साथै छिमेकी गाउँ धौलकोटस्थित दुर्गा भवानीको पनि पूजा गर्ने चलन छ।
करिब एक लाखको हाराहारीमा भक्तजनको भीड लाग्ने यस्ता पर्वमा भारतको पिथौरागढ लगायत स्थानबाट हजारौंको संख्यामा श्रद्धालु आउने गरेका छन्। छिमेकी मुलुक भारतका गाउँबाट आउने भक्तजन महाकाली नदीमा राखिएको तुइनबाट तरेर नेपालमा हुने गरेको पुजा तथा मेलामा सहभागी हुन्छन्।
‘जगेनी जात्रा’लाई नेपाल र भारतका हिन्दू धर्मावलम्बीले आफ्नो साझा पर्वको रुपमा लिने गर्छन्। यो जात्रा कहिलेदेखि सुरु भयो, यकिन छैन।
स्थानीय ब्रह्म देवताका धामी गजेन्द्रसिंह कुँवरका अनुसार, बाजे–बराजुको पालादेखि जात्रा निरन्तर चलिरहेको छ।
हिमालको काखमा बसेको सो मन्दिरको पूर्वोतर डाँडामा मलिकार्जुन मन्दिरका साथै सुन्दर पहाड दम्दाकोट छ। मन्दिरको पश्चिममा भारतीय गाउँ जुमा पर्छ भने उत्तरमा हिमाल र फेदीमा महाकाली बग्ने गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।