- शालिकराम चालिसे
नुवाकोट– पाँचौं नुवाकोट महोत्सवमा उँटको नाचतर्फ अवलोकनकर्ताहरु आकर्षित भएका छन्। बुटवलबाट ल्याइएको डान्सर जातको उँट नाचेको हेर्न महोत्सवमा भीड लाग्ने गरेको छ।

‘निर जहिल्यै रिसाउने’ बोलको गीतमा उँट नाच्दा दर्शक निकै रमाउने गरेका छन्। उँटले नाच्नुका साथै म्वाइँ खाने, नमस्कार गर्ने लगायतका विभिन्न ७ वटा कला देखाउने गरेको छ।

उँटको नाच हेर्न दैनिक करिब ६ सय जना आउने गरेको विजी ग्रुपका शिवलाल गौतमले बताए। उनका अनुसार, उँट भारतको राजस्थानबाट १० लाख रुपैयाँमा खरिद गरिएको हो।
गौतमले पैसा कमाउनेभन्दा पनि मानिसहरुलाई मनोरञ्जन गराउने उद्देश्यले उँटलाई महोत्सवमा ल्याइएको बताए। उँट पाल्न मासिक २५ हजारभन्दा बढी खर्च लाग्ने उनले जानकारी दिए।

महोत्सवका एक अवलोकनकर्ता श्याम थापाले उँटको नाच्ने शैली देखेर दंग परेको बताए। अर्की अवलोकनकर्ता रोजी केसीले उँटले नाच्छ भनेर अनौठो लागेर हेर्न आएको बताइन्।
‘उँटले नाचेर म्वाइँ खाँदा म त छक्क परेँ’, केसीले भनिन्।

महोत्सवको केन्द्रविन्दु बनेको उँटसँग फोटो र सेल्फी खिच्नेको समेत भीड लाग्ने गरेको छ। मेलामा अस्ट्रिच पनि आकर्षणको केन्द्र बनेको छ। फागुन १६ देखि सुरु भएको नुवाकोट महोत्सव २६ गतेसम्म चल्नेछ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।