काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न मतदान सुरु भएको छ।
संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको उम्मेदवारीलाई नेता विजयकुमार गच्छदारले प्रस्ताव र नेता मानबहादुर विकले समर्थन गरेका छन्। सर्वसम्मतिबाट चयन गर्ने प्रयास असफल भएपछि मतदान भएको हो।
पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका केन्द्रीय सदस्य सिंहको उम्मेदवारीलाई कोषाध्यक्ष सीतादेवी यादवले प्रस्ताव र नेता सञ्जयकुमार गौतमले समर्थन गरेको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिए।
प्रतिनिधिसभा सदस्यको सपथलगत्तै संसदीय दलको कार्यालय पुगेका सभापति देउवाले दलको नेताका लागि वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका थिए। सिंह भने प्रतिनिधिसभा निर्वाचनमा नेता पौडेलको पराजयपछि देउवाविरोधी धारको नेतृत्व गर्दै पार्टीमा आफ्नो स्थान बनाउने रणनीतिमा छन्। सिंहले आइतबार साँझ आफैँ उपस्थित भएर उम्मेदवारी दर्ता गराएका हुन्।

मतदान १ बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा चल्ने छ। मतदान समाप्त भएलगत्तै मतगणना सुरु हुने उनले जानकारी दिए। कूल २७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन्।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।