न्होमपेन्ह- कम्बोडियाका प्रधानमन्त्री सम्देच तेचो हुसेनको पार्टी कम्बोडियन पिपुल्स पार्टी(सिपीपी)ले कम्बोडियाको माथिल्लो सदन(सिनेट)का सबै सिटमा जीत हासिल गरेको छ।
गत फेब्रुअरी २५ मा भएको निर्वाचनमा सिनेटका सबै सिटमा सिपीपी विजयी भएको अधिकारीहरुले शनिबार घोषणा गरेका हुन्। राष्ट्रिय निर्वाचन आयोगले कुल ११ हजार ६ सय ७० मतमध्ये सिपीपीले ११ हजार २ सय २ मत प्राप्त गरेको जनाएको छ। यो मत कुल मतको झण्डै ९६ प्रतिशत हो।
चार प्रतिशत मत मात्रै अन्य पार्टीमा गएपछि सिपीपीले कुल ५८ सिटमा नै विजयी भएको आयोगले जनाएको छ।
निर्वाचनमा प्रधानमन्त्रीको पार्टी सिपीपी, राजकुमार नोरोडोम रानारिद्धको फन्सीन्पेस पार्टी, अक्बोडियन युथ पार्टी र खमेर नेशनल युनाइटेड पार्टी गरी चार पार्टीले प्रतिश्पर्धा गरेका थिए।
कम्बोडियामा हरेक छ बर्षमा सिनेटको निर्वाचन हुने गर्दछ। यो आमनिर्वाचन होइन, किनकी यसमा आम नागरिकले भाग लिन पाउदैनन्।
निर्वाचन आयोगका अनुसार संसद र गाँउ परिषद्का सदस्यहरुले सिनेटका लागि मतदान गर्दछन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।