समयः २०२० कार्तिक १
स्थानः पाकिस्तानको ढाकास्थित रंगशाला (हाल बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशाला)
त्यतिबेला नेपाली फुटबल टोली भिड्दै थियो, पाकिस्तान वेस्टर्न रेल्वेसँग। यो खेलमा नेपाली गोलपोस्टको सुरक्षा गर्ने जिम्मेवारी पाएका थिए, विष्णु बरालले। भारतीय भूमिबाहिर, पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका रुपमा ढाकामा आगा खाँ गोल्डकप खेल्न मैदानमा उत्रिँदा ६ फिट अग्ला, यी लुखुरे नेपाली गोलरक्षकको मनमा धेरै कुरा खेलिरहेको थियो।
अमर थापा र बिबी गुरुङजस्ता डिफेन्डरका कारण केही समय आफूलाई सुरक्षित महसुस गरिरहेका बराल त्यतिबेला झस्किए, जब खेलको १३ मिनेटमा वेस्टर्न रेल्वेका तालिब इद्रिसले उनको रक्षाकवज तोडे। बाँकी कुनै पनि समय नेपाली टोली मैदानमा सम्हालिएको देखिएन। ९० मिनेटभित्रै ८ गोल खायो, नेपालले। यो लज्जास्पद पराजयका बाबजुद एउटा बंगाली पत्रिकाले भोलिपल्ट गोलरक्षक बरालको प्रदर्शनको तारिफ गर्दै लेखेछ, ‘बरालले आठ गोल खाए पनि गोलपोस्टमा उत्कृष्ट प्रदर्शनका लागि उनी प्रशंसाको हकदार छन्।’
दुई दिनपछि ढाका वन्डर्सविरूद्ध दोस्रो खेल खेलिरहेको नेपाल फेरि नराम्ररी हार्यो। हारको नतिजा थियो, ७–०। फेरि पनि ढाकाबाट प्रकाशित पत्रिकामा गोलरक्षक बरालको प्रदर्शनको तारिफमा अर्को समाचार आयो, ‘गोलरक्षक बी बरालले आफ्नो टोलीका लागि उत्कृष्ट प्रदर्शन गरे, गोलपोस्टमा प्रतिद्वन्द्वीको थुप्रै प्रहार निस्तेज पार्दै।’
विष्णु बराल, पूर्वका नामी खेलाडी, जसले २०२० सालमा ढाकामा सम्पन्न आगा खाँ गोल्ड कपको ३ खेलमा १५ गोलको भारी बोकेका थिए। तर पनि उनी त्यो प्रतियोगितामा आफ्नो छाप छोड्न सफल भए। आखिर ३ खेलमा १५ गोल खाँदा उनलाई स्थानीय मिडियादेखि दर्शकले रुचाए, किन? यसको कहानी निकै रोचक छ।
नेपाली खेलाडी बिना तयारी पाकिस्तान एयरलायन्सको जहाज चढेर ढाका ओर्लिएको थियो। फेरि अघिल्लो २ खेलमा नेपाली बिङ्गरको प्रदर्शन निकै फितलो रह्यो। अग्रपंक्तिका नेपाली खेलाडी पनि निरीह देखिए। उनीहरू विपक्षी टोलीको गोलपोस्टसम्म पनि बल लैजान असफल भइरहेका थिए। बल धेरै समय नेपाली गोलपोस्टमै घुमिरहेको थियो।

ढाकामा आगा खाँ गोल्डकप खेल्न गएको नेपाली टिम
१५ गोल खाइसकेको २ खेलमा बल रोक्दारोक्दै हैरान भइसकेको थिए, बराल। उनको ‘एक्रोब्याट’ निकै राम्रो थियो। उनले नेपाल पराजित दुवै खेलमा ‘एक्रोब्याटिक स्टाइल’ मा थुप्रै बल रोकेका थिए।
‘बल रोक्दा रोक्दा हैरान। हाम्रो फरवार्डले अगाडि लैजान नसक्ने,’ ५४ वर्ष अगाडिको घटना सम्झन्छन् बराल।
यो प्रतियोगितामा उनको प्रदर्शनको मूल्यांकन गर्दै नेपाली खेलकुदका पिता नरशमशेरले काठमाडौं पुगेर जुत्ता किनिदिने वाचा गरेका थिए। यद्दपि काठमाडौं फर्केपछि उनले जुत्ता उपहार त पाएनन्। तर, उनलाई काठमाडौंमै बसेर लिग खेल्न थुप्रैपल्ट आग्रह गरेका थिए, नरशमशेरले। उनले हरेक पल्ट विभिन्न बहाना बनाए। तर, काठमाडौं पसेनन्, लिग खेल्न।
२०१४ सालमा विराटनगरको आदर्श विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि फुटबलसँगै शिक्षण पेसामा आवद्ध भएका थिए, बराल। विराटनगरका कान्छो पुस्ताले विष्णु बराललाई खेलाडीभन्दा पनि अनुशासित शिक्षकका रुपमा चिन्छन्।
किनभने उनी ४४ वर्ष शिक्षण पेसामा संलग्न रहे। अहिले उनी रिटायर्ड जीवन बिताइरहेका छन्। तर, पनि विराटनगरमा कुनै खेल अयोजना भएमा उनी सेतो फुलेको जुँगा अनि पावरवाल चश्मामा ठाँटिएर स्थानीय सहिद रंगशाला पुग्ने गर्छन्।
उनको फुटबल करिअर सुरु भएको थियो, अग्रज सालिग्राम अधिकारीको खेल हेर्दै। तर, कालान्तरमा उनी सालिग्रामकै सहपाठी बन्न पुगे, मैदानमा। २०२० सालको आगा खाँ गोल्ड कपमा मात्र होइन, २०१८ सालदेखि विराटनगरमा सुरु भएको महेन्द्र गोल्ड कपमा मोरङ–११ टोलीमा सम्मिलित थिए, सालिग्रामसँगै उनी पनि। अझ, २०१९ सालमा मोरङले महेन्द्र गोल्ड कपको दोस्रो संस्करण जित्दा गोलरक्षकको मुख्य भूमिका निर्वाह गरेका थिए, बराल सरले।
२००७ साल अगाडि सरस्वती टोलमा पुरानो एयरपोर्ट थियो। त्यही एयरपोर्टमा फुटबल सिक्न जान्थे, बराल। २००७ सालको क्रान्तिपछि काठमाडौंबाट विराटनगर पुग्दा बिपी कोइराला त्यही मैदानमा उत्रेका थिए।
मिल्स एरियास्थित पूर्वाञ्चल प्रहरी तालिम केन्द्रमा फुटबल प्रतियोगिता हुन्थ्यो। त्यतिबेला मिल्स क्लब र पुलिस टिम मात्र होइन विराटनगरको नम्बर १ टाउन क्लबदेखि छिमेकी धरानबाट पनि विभिन्न क्लब समावेश हुन्थे। यो प्रतियोगितामा पूर्वाञ्चलका बलिया क्लबबाहेक एउटै स्कुललाई समावेश गर्ने गरिन्थ्यो, त्यो स्कुल थियो आदर्श स्कुल। यही स्कुलबाट विष्णु बरालले २०१२ सालमै आफूभन्दा निकै सिनियर खेलाडीसँग प्रतिस्पर्धा गरेका थिए।

विष्णु बराल
विराटनगरको जानकीरोडस्थित सरस्वती माध्यमिक विद्यालयका यी पूर्व हेडमास्टर कसरी गोलरक्षक बन्न पुगे?
‘म सानैदेखि एक्रोबेटको फ्यान थिएँ। त्यतिबेला भारतबाट आउने म्यागजिनमा गोलकिपरको एक्सन फोटोबाट निकै प्रभावित भएँ,’ बराल भन्छन्, ‘पत्रिकामा गोलकिपरको फोटो एक्रोब्याटिक स्टाइलमा आउँथ्यो। खुब मन पर्थ्यो।’
विशेषतः रुसका ख्यातिप्राप्त गोलरक्षक लेभ यासिनका अन्धोभक्त थिए, उनी।
उनीभन्दा अघि टाउन क्लबको गोलरक्षक थिए, नेपाल पुलिसका पूर्व डिआइजी द्वारिकाबहादुर श्रेष्ठ। २०१६ सालमा भएछ के भने, श्रेष्ठ इन्स्पेक्टरको जागिर खान काठमाडौं लागेछन्। त्यसपछि क्लबलाई गोलरक्षकको आवश्यकता परेछ। क्लबले मौका दियो, यिनै हेडमास्टरलाई। त्यसपछि उनले फर्केर हेर्नुपरेन। २०२४ सालसम्म उनी पूर्वाञ्चलको नम्बर १ गोलरक्षक बने। २४ सालपछि उनलाई पद्स्थापन गरे, प्रदीप चौधरीले।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।