काठमाडौं- प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद नवराज सिलवाल सबैलाई चकित पार्दै आज बानेश्वरस्थित संघीय संसद भवनभित्र प्रवेश गरेका छन्।
ढाका टोपी र कालो रङको कोट-पाइन्टमा रहेका उनी संसद् भवन छिरेका हुन्। प्रहरीको खोजी सूचीमा रहे पनि उनी कडा सुरक्षा निगरानी रहेको संसद् भवनभित्र छिरेपछि सबैले आश्चर्य प्रकट गरेका छन्।
एमाले र माओवादी केन्द्रका सांसदहरुको संयुक्त बैठकमा सहभागी जनाउन उनी संसद भवन प्रवेश गरेका हुन्। एकीकरण प्रक्रियामा रहेका दुवै दलको सांसदहरुको संयुक्त बैठक पहिलो पटक बसिरहेको छ। सो बैठकमा दुवै दलका पार्टी अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
संसदमा दुवै पार्टीबाट नयाँ अनुहारको समेत प्रतिनिधित्व रहेकाले शीर्ष नेता समेतले संसदीय अभ्यास र गतिविधिका विषयमा सांसदहरुलाई निर्देशन दिन बैठक आयोजना गरिएको हो।
निर्वाचनपछि संसदको पहिलो बैठक २१ गते बस्दैछ। त्यसअघि प्रतिनिधिसभाका सांसद्हरुको सपथ भोलि हुँदैछ।
आइजिपी बढुवा सम्बन्धी मुद्दामा सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन (कासमू) सम्बन्धी कागजपत्र कीर्ते रहेको भन्दै अनुसन्धान गरी कारबाही गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो। त्यसपछि उनी फरार रहँदै आएका छन् भने प्रहरीले खोजी गरिरहेको बताएको छ। सिलवालले भने सरकारले प्रतिशोध स्वरुप आफूविरुद्ध मुद्दा चलाउन खोजेको आरोप लगाउँदै आएका छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।