काठमाडौं– ल्यान्डमार्क हाउजिङको विषयमा परेको उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतले उद्योगी पद्म ज्योतिलाई समेत पक्राउ पूर्जी जारी गरेको छ। कात्तिक २१ गते ल्यान्डमार्क हाउजिङमा ठगी गरेको आरोपमा प्रहरीले उद्योगी तथा पद्म ज्योेतिका भाइ रुप ज्योती तथा उनकी छोरी सुरुचि ज्योतिलाई पक्राउ गरेको थियो।
व्यवसायी तथा पूर्व अर्थ सहायकमन्त्री रुप ज्योति ठगी आरोपमा पक्राउ परेका हुन्। गत बिहीबार साँझ महानगरीय प्रहरी परिसरको टोलीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।
हाउजिङका नाममा विभिन्न व्यक्तिसँग ठगी मुद्दामा रूप ज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० मा अनुमति दिएको थियो। तर, उनी त्यसविरुद्ध सोही वर्ष मंसिर २४ मा सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए। त्यसको १ वर्षपछि मंगलबार सर्वोच्चले रुप ज्योतिको विपक्षमा फैसला सुनाएको थियो।
सर्वोच्चको उक्त फैसलासँगै प्रहरीलाई रुप ज्योति पक्राउ गर्न बाटो खुलेको थियो। ल्यान्डमार्क हाउजिङमा आफू ठगिएको भन्दै विज्ञेन्द्रकृष्ण मल्लले प्रहरीमा उजुरी दिएका थिए। ल्यान्डमार्क हाउजिङमा ज्योति समूह अन्तर्गतका विभिन्न कम्पनीको सेयर भएका कारण पद्म ज्योतिलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने भएकाले प्रहरीले पक्राउ पूर्जी जारी गर्न अदालतसँग अनुमति मागेको थियो।
प्रहरीको उक्त मागमा सोमबार काठमाडौं जिल्ला अदालतले पद्म ज्योतिलाई समेत पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमति दिएको हो।
कात्तिक २१ गते पक्राउ परेका रुप ज्योतिलाई सुरुमा अनुसन्धानका लागि ३ दिनको थुनामा राख्न म्याद दिइएको थियो। त्यसपछि आइतबार अदालतले पुनः रुप ज्योतिका बाबुछोरीलाई अनुसन्धानका लागि थप ५ दिन थुनामा राख्न अनुमति दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।