काठमाडौं– सातामा कारोबारको पहिलो दिन सामान्य अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार भने दोहोरो अंकले बढेको छ। आज १३ दशमलव ७७ अंकले बढेर नेप्से १ हजार १ सय ४५ दशमलव ५७ अंक कायम भएको छ। अन्य समूहबाहेक सबै समूहको उपसूचक बढेको छ।
सोमबार १ सय ७५ वटा कम्पनीको १९ लाख ९५ हजार कित्ता सेयर ६ हजार ६ सय ४८ पटक किनबेच हुँदा ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। सोमबारको कारोबारमा एनएमबी बैंकको सेयर कारोबारमा उछाल देखिएको छ। पूँजीबजारमा अघिल्लो हप्ता एनएमबी बैंकको कारोबार रकम बढ्न सुरु भएको थियो। आइतबार एनएमबी बैंकको सबैभन्दा धेरै ५ करोड ७३ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। सोमबार नेप्सेमा भएको कुल कारोबारको २५ दशमलव ३१ प्रतिशत कारोबार एनएमबी बैंकको मात्रै देखिएको छ।
गत शुक्रबारमात्र कारोबार खुला गरिएको एनएमबी बैंकले २१ प्रतिशत बोनस र १४ प्रतिशत नगद लाभांश घोषणा गरे पनि त्यसको प्रत्यक्ष र सकारात्मक असर सेयर कारोबारमा देखिएको हो।
कारोबार रकमसँगै कारोबार भएको सेयर संख्याका आधारमा पनि एनएमबी बैंक पहिलो स्थानमा देखिएको छ। सोमबार उक्त बैंकको ३ लाख ६७ हजार कित्ता सेयर किनबेच भएको छ।
आज धेरै कमाउनेमा भने हिमालयन डिस्टिलरी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ९७ प्रतिशते कमाएका छन्। त्यसैगरी सबैभन्दा धेरै गुमाउनेमा एनआइबिएल समृद्धि फण्ड १ का लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ७७ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।