काठमाडौं- अन्त:शुल्क स्टिकर खरिद र सिमेन्ट गुणस्तर निर्धारणको विषयमा छलफल गर्ने तय गरिएको संसदको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ। सम्बन्धित मन्त्रालयका मन्त्रीसहितका पदाधिकारीलाई बोलाएर छलफल गर्ने भन्दै शुक्रबारको बैठक सकिए पनि सो बैठक सोमबार पनि बस्न सकेन।
सोमबार बैठक नबस्नुको कारण भने अनौठो रहेछ। स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको लागि योजना छनौट गर्न सांसदहरु जिल्ला गएका कारण कोरम नपुग्ने भएपछि बैठक रोकिएको समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए।
'स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम यही कात्तिक मसान्तिभित्र पेस गर्नुपर्ने भएकाले माननीयहरु बाहिर जानुभएको छ, अहिले बैठक राख्दा कोरम नपुग्ने भएपछि मंसिर १ गतेपछि मात्रै बैठक बस्छ,' पाण्डेले भने।
स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत् सञ्चालन गरिने आयोजना छनौट कात्तिकभित्र गर्नुपर्ने व्यवस्था कार्यविधिमा छ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार कात्तिक मसान्तिभत्र प्राप्त आयोजनाको सूची सम्बन्धित जिल्ला समन्वय समितिले मंसिर १५ गते भित्रमा सम्बन्धित स्थानीय तहमा पठाउनुपर्नेछ।
कार्यविधिमा भएको व्यवस्थाअनुसार प्रत्येक निर्वाचन क्षेत्रमा उपलब्ध हुने कूल रकमको ५० प्रतिशत रकमबाट न्यूनतम ५० लाख रुपैयाँ लागत भएका आयोजना र बाँकी ५० प्रतिशत रकमबाट न्यूनतम १० लाख रुपैयाँ लागत अनुमान भएका आयोजना छनौट गर्नुपर्नेछ।
यसैगरी छनौट भएका आयोजना कार्यान्वयनको सम्झौता माघ भित्रमा भइसक्नुपर्ने छ। त्यस अवधिमा सम्झौता हुन नसकेमा एउटै निर्वाचन क्षेत्रका अर्को आयोजनामा फागुन १५ भित्रमा हस्तान्तरण गर्न सकिने व्यवस्था कार्यविधिमा छ।
सरकारले विरोधका बाबजुद प्रत्येक निर्वाचन क्षेत्रमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम सञ्चालन गर्न ६ करोड रुपैयाँ विनियोजन गरेको छ।
यो कार्यक्रमका लागि ९ अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।