काठमाडौं- संयुक्त अधिराज्यको लन्डन सहरमा नोभेम्बर ४ देखि ६ सम्म आयोजना भएको विश्व पर्यटन बजार ‘डब्लुटिएम’ पर्यटन मेलामा नेपालको सहभागिता जनाएको छ।
संसार कै ठूलो पर्यटन मेला मध्येको एक यस मेलामा नेपालको सहभागितालाई नेपाल पर्यटन बोर्डले नेतृत्व गरेको थियो, जसमा ३६ नेपाली ट्राभल कम्पनीहरुको सहभागिता रहेको थियो। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गरेका थिए।
मेलाको ४०औ संस्करणमा १ सय ८० भन्दा बढी गन्तव्य स्थलहरु सहभागी थिए।
नेपाल भ्रमण भन्दा पनि पहिले विदेशीहरुलाई नेपाली स्वाद पस्किने कार्यक्रम नोभेम्बर ३ मा आयोजना गरिएको थियो। नेपाल पर्यटन बोर्डको नेपाली खानालाई अन्तराष्ट्रियकरण गर्ने उद्देश्य बमोजिम आयोजित 'लन्डन फुड ट्रेक्स' कार्यक्रममा नेपाली खानाहरु फाँडो, चुकौनी, मम, दाल र सिकर्नी सहभागीहरुलाई खान दिइएको थियो।
मन्त्री भट्टराईले नेपाली स्वाद लन्डनको फुडट्रेक्समा पस्किन पाउनु गौरवको विषय भएको बताए। नेपाल हिमालहरुको देश, विविध संस्कृतिको संगमस्थलका रुपमा परिचित हुँदै आएकोमा अबका दिनमा नेपाली मौलिक परिकारहरुले चिनाउने अभियानमा लागेको उनको भनाइ छ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नोभेम्बर ६ मा आयोजित 'एसियामा खाना पर्यटनमा भएको नविन सोच' विषयक प्यानल डिस्कसन कार्यक्रममा सहभागी हुँदै नेपाली खानाले पर्यटकमा अमिट छाप छोड्ने हुँदा यसको प्रवर्द्धनमा बोर्ड जुटेको बताएका थिए।
साथै नोभेम्बर ५ मा नेपाली दूतावास लन्डनमा नेपाल भ्रमण वर्षको विशेष कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा विश्व प्रसिद्ध पर्वतारोहीहरु, बेलायती टुर अपरेटरहरु, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो।
१४ पटक सगरमाथा आरोहण गर्ने केन्टोन कुल, पहिलो बेलायती महिला आरोही रेबेक्का स्टेफन्स, पाटा कार्यकारी प्रमुख मारियो हार्डी लागायतले कार्यक्रममा नेपाल भ्रमण वर्षलाई सफल बनाउन सहभागीहरुलाई अनुरोध गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।