काठमाडौं– साँझ ५ बजेका लागि आकस्मिक रुपमा बोलाइएको मन्त्रिपरिषद्को बैठक एक पटक सरेर पुनः स्थगति भएको छ।
आइतबार साँज ५ बजेका लागि आकस्मिक रुपमा बोलाइएको बैठक सारेर साढे ६ बजे पुर्याइएको थियो। तर सो समय पनि गुज्रिएपछि बैठक बस्दै नबसी सरेको हो।
बैठक सोमबार बिहान ११ बस्ने तय गरिएको छ।
आइतबार दिउँसो मात्रै बसेको मन्त्रिपरिषद् बैठकले मेडिकल काउन्सिलमा डा भगवान कोइरालालाई नियुक्ति गर्ने, सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने लगायतका निर्णय गरेको थियो।
दिउँसोको बैठकमा सहभागी एक मन्त्रीले नेपाल लाइभसँग कुरा गर्दै सोमबार सबै प्रदेशका प्रमुखको नियुक्ति गर्ने बताएका छन्। 'भोलि नियुक्ति हुन्छ, संभावित अनुहार भोलि नै थाहा पाउनुहुन्छ,' उनले भने।
'कांग्रेस नेतृत्वको सरकारले नियुक्ति गरेका व्यक्तिलाई दुई वर्ष सम्म पदिय जिम्मेवारीमा निरन्तरता दिनु सरकारको उदारता हो। हटाउनु स्वभाविक हो;' ती मन्त्रीले भने।
प्रधानमन्त्रीको स्वास्थ्यमा आएको समस्याका कारण नेकपा सचिवालयक र मन्त्रिपरिषद् बैठक बसिरहेको छ।
प्रधानमन्त्रीको स्वास्थ्यमा केही दिनयता समस्या आएको छ। मृगौलामा समस्या आएपछि गत बुधबार र बिहीबार प्रधानमन्त्री ओलीको डायलासिस गरिएको थियो।
शनिबार बसेको नेकपा सचिवालय बैठकमा ओलीले आफ्नो स्वास्थ्य समस्याबारे ब्रिफिङ गरेका थिए।
आइतबार दिउँसोको मन्त्रिपरिषद् बैठकअघि पनि प्रधानमन्त्रीले शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य परीक्षण गराएका थिए। (फाइल फोटो)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।