काठमाडौं- सरकार आफैंले गुठी संस्थानको भोगचलन गरेका जग्गाको अर्बौं रकम नतिरेको खुलासा भएको छ।
गुठी संस्थानको ५६औं वार्षिकोत्सव कार्यक्रमको अवसर पारेर आइतबार काठमाडौंमा सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा सरकारले आफ्नो कार्यालय र अन्य संघ, संस्थाका लागि जनकपुरमा मात्रै गुठीको जग्गा १ सय ७० बिगाहाभन्दा बढी उपयोग गरेपनि त्यसको मात्रै १५ अर्बभन्दा बढी बहाल नदिएको उल्लेख गरिएको हो।
कार्यक्रममा बोल्दै संस्थानका प्रशासक नारायण चौंधरीले सरकार र अन्य संघ, संस्थाहरुसँग गुठीको जग्गाको करिब १६ अर्ब ७२ करोड २५ लाख रुपैयाँ असुली गर्न बाँकी रहेको उल्लेख गर्दै सो असुलीका लागि सरकारसँग पत्राचार गर्ने निर्णय गरिएको पनि बताए।
प्रतिवेदनमा सरकारसँग अर्बौं रकम असुली हुन नसक्दा गुठी संस्थान संचालनमा समेत खर्च अभाव हुने अवस्था आएको पनि उल्लेख गरिएको छ।
गुठी संस्थानले आर्थिक वर्ष २०७६/०७७ को आय ६७ करोड ५७ लाख १४ हजार ८ सय र ५८ करोड ८२ लाख ५५ हजार ९ सय व्ययको पनि अनुमान गरेको छ। संस्थानका प्रशासक चौंधरीले गुठी संस्थानको आर्थिक पारदर्शिताका लागि भन्दै भेटी संकलनको आधार, मापदण्ड तय गरि लागू गर्ने योजना पनि सो वार्षिक साधारण सभामा प्रस्तुत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।