काठमाडौं– आफ्नै कर्मचारीलाई बलत्कारको प्रयास गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराको जबरजस्ती करणी उद्योग मुद्दामा थुनछेक बहस सुरु भएको छ।
जिल्ला अदालत काठमाडौंमा न्यायाधीश सुदर्शन पाण्डेको इजलासमा सुरु भएको बहसमा आइतबार उनका कानुन व्यवसायीहरुले बहस सुरुवात गरेका छन्। आइतबार पूर्वसभामुख महराको तर्फबाट लव मैनाली र भोजप्रसाद आचार्यले बहस गरेका छन्। जिल्ला अदालतको एक नम्बर इजलासमा बन्द इजलास गठन गरी बहस भएको थियो।
महराविरुद्ध बिहीबार बलात्कार प्रयासमा ५ वर्ष र विशिष्ट व्यक्ति भएकाले थप दुई वर्ष गरी सात वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर भएको थियो। सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको मुद्दामा बयान दिन उनी आज उपस्थित भएका थिए। बिहीबार अबेर मात्र मुद्दा दायर भएकाले शुक्रबार अबेरसम्म महरालाई बयान गराइएको हो।
प्रहरी अनुसधान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले महरामाथि जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो। आइतबारबाट महरालाई लागेको अभियोगमाथि पक्षका वकिलहरुले प्रतिरक्षा बहस थालेका हुन्। बहस सकिएपछि पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा धरोटी माग्ने भन्नेबारे अदालतले निर्णय गर्नेछ। अदालतले साधारण तारेखमा वा धरौटी माग गरेमा उनी रिहा हुनेछन्। नत्र मुद्दाको फैसला नभएसम्म थुनामा बस्नु पर्नेछ।
संसद् सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेपछि उनलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो। महराको बन्द इजलासमा बयान लिइएको थियो। बयानमा उनले आफू रोशनीको कोठामा नपुगेको दाबी गरेका थिए। रोशनीलाई सम्झाउन पुगेको तर आफूमाथि गलत आरोप लगाएको भन्दै उनले आफूलाई बचाउ गरेका थिए। महराले रोशनीले आफूलाई धम्की दिएको पनि बयान दिएका छन्। महराले रोशनीसँग अभिभावको सम्बन्ध भएको स्वीकार गर्दै यस्तो आरोप किन लगाइन् त्यसबारे आफू अनभिज्ञ रहेको दाबी समेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।