काठमाडौं- शून्य लागतको श्रम समझदारी कार्यान्वयनका लागि संयुक्त अरब इमिरेट्स (युएई) र नेपालका संयुक्त कार्यसमितिको बैठक काठमाडौंमा सुरु भएको छ।
संयुक्त कमिटीको यो बैठक आइतबार र सोमबार हुनेछ। बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा रामप्रसाद घिमिरेको नेतृत्वमा ६ सदस्यीय टोली छ भने युएईका तर्फबाट मानव संसाधन मन्त्रालय अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखाका निर्देशक अब्दुल्लाह अल नुवाइमीले नेतृत्वमा टोली आएको मन्त्रालयले जनाएको छ।
बैठकमा नेपाल र युएईबीच भएको शून्य लागतको श्रम समझदारीलाई कार्यान्वयन पक्षलाई जोड दिइने मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिएका छन्।
सन् २००७ मा नेपाल र युएईबीच भएको श्रम समझदारीपछि गत जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको मापदण्डअनुसार श्रम समझदारी भएको थियो।
समझदारीमा नेपाली श्रमिकहरू रोजगारीका लागि युएई जाँदा लाग्ने सम्पूर्ण लागत खर्च रोजगारदाताले नै ब्यहोर्नु पर्ने, न्यूनतम पारिश्रमिक प्रत्याभूत हुनुपर्ने उल्लेख थियो।
बिमा, स्वास्थ्य, आवास, बिदा लगायतका विषय श्रमिकको हित अनुकूल समेटिएका थिए।
कामदारले कम्पनी वा रोजगारदाता परिवर्तन गर्न चाहेमा परिवर्तन गर्न पाउने विषयलाई समेत समझदारीमा उल्लेख गरिएको छ।
नेपाली श्रमिकहरूको सामाजिक सुरक्षाको प्रत्याभूत हुने गरी कामदारको ओभरटाइम सुविधा, कार्यस्थलको उपयुक्त वातावरण, समान व्यवहार लगायत विषयलाई उठान गरिएको छ।
त्यस्तै गन्तब्य मुलुकमा नेपाली श्रमिकहरूको न्यायमा पहुँच हुने वातावरण तय गरिनुपर्ने समझदारी पत्रमा उल्लेख छ। नयाँ श्रम समझदारी कार्यान्वयन भएपछि श्रमिकहरूले आफ्नो राहदानी आफैंले राख्न पाउँछन्।
नेपालका महिला कामदारहरूका लागि समेत युएई राम्रो गन्तब्य मुलुक रहेकाले महिला कामदारका सम्बन्धमा छुट्टै सुरक्षा व्यवस्थाको व्यवस्था गरिने बताइएको छ।
यी लगायत श्रम समझदारीका सम्पूर्ण विषयलाई कार्यान्वयन गर्ने सम्बन्धमा बैठकले निष्कर्ष निकाल्ने मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।