काठमाडौं- नेपाल भ्रमणमा रहेको विश्व बैंकको उच्चस्तरीय १३ सदस्यीय प्रतिनिधिमण्डलले बिहीबार अर्थमन्त्री डा युवराज खतिवडासँग भेटवार्ता गरेको छ। प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयमा भेटघाट गरी नेपालको संघीयता कार्यान्वयनबाट विश्व समुदायले सिको गर्नुपर्ने धारणा राखेका छन्।
नेपालको संघीयता व्यवस्थापनमा भएको उपलब्धि तथा आर्थिक व्यवस्थापनका प्रयासबारे उच्च प्रशंसा भएको छ। विश्व बैंकमा संसारभरका सम्पूर्ण सदस्य राष्ट्रहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २५ जना कार्यकारी निर्देशकमध्ये नेपाल समेतको प्रतिनिधित्व गर्ने ९ जना कार्यकारी निर्देशक, २ जना वैकल्पिक कार्यकारी निर्देशक र बैंकका उच्च पदस्थ कर्मचारीसहितको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा अर्थमन्त्री डा खतिवडाले नेपालको समग्र आर्थिक, सामाजिक तथा जनसांख्यिक र वातावरणीय अवस्थाको जानकारी गराएका थिए।
हालैका वर्षहरुमा नेपालले हासिल गरेको आर्थिक, सामाजिक प्रगतिका बारेमा समेत उनले जानकारी गराए। संघीयता अभ्यासका दृष्टिले नेपाल सबैभन्दा कान्छो मुलुक भएको, युवा जनसंख्या अत्याधिक भएको र कमजोर भू-अवस्थिति भएको मुलुकको विगत ३ वर्षमा औसत आर्थिक वृद्धि ६.५ प्रतिशतभन्दा माथि रहेकोसमेत उनले अवगत गराएका थिए।
गत वर्ष ७.१ प्रतिशतले आर्थिक वृद्धि भएको तथा मुद्रा स्फीति ५ प्रतिशत कायम रहेको, रोजगारीका अवसरहरु वृद्धि हुँदै गइरहेकाले अर्थतन्त्रमा उत्साहको वातावरण सिर्जना भएको उनको भनाइ थियो।
बाह्य क्षेत्रको असन्तुलन, वित्तीय स्रोतको सीमा र क्षमताको अपर्याप्तताका कारण थप आर्थिक वृद्धि हासिल गर्न आगामी वर्षहरुमा बाह्य क्षेत्र सन्तुलनमा समेत सुधार हुँदै गएको भए पनि केही चुनौतीहरु रहेको खतिवडाले प्रष्ट्याए। विकासका पूर्वाधारहरु तयार हुँदै गरेको, शिक्षित जनशक्ति विकास हुँदै गरेको र नेपाल सरकारको ऋणको अनुपात हाल कूल गार्हस्थ उत्पादनको ३० प्रतिशतमा सीमित रहेकोले गुणस्तरीय आयोजनामा थप वित्तीय स्रोत जुटाई आर्थिक तथा सामाजिक विकासको गतिलाई अझै बढाउने अवसर प्राप्त हुने मन्त्री खतिवडाले धारणा राखे।
'पुँजीगत सामान तथा कच्चा पदार्थको आयातमा भएको विस्तारले व्यापार घाटा वृद्धि भई भुक्तानी सन्तुलनमा केही चाप परेको अवस्था देखिएता पनि आयात प्रतिस्थापन तथा निर्यात वृद्धिमा अवलम्वन गरिएका सुधार प्रयासले व्यापार घाटा सुधारोन्मुख रहेको छ। भुक्तानी सन्तुलन कायम हुन थालेको र विदेशी मुद्रा सञ्चिति ९ महिनाको आयात धान्नेगरी सहज अवस्थामा रहेको छ,' प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्रीले खतिवडाले भने।
नेपालको अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखिन थालेको जानकारी अर्थमन्त्री खतिवडाले गराए। दूरसञ्चार सेवाबाट सुरु भएको विश्व बैंकसँगको सहकार्य ५० वर्ष पूरा भएको स्मरण गर्दै दूरसञ्चार क्षेत्रको हालको प्रगति उत्कृष्ट रहेको उनको दावी थियो। विश्व बैंक नेपालको आर्थिक तथा सामाजिक विकासमा एक विश्वसनीय साझेदार संस्थाको रुपमा स्थापित भएको खतिवडाले जिकिर गरे।
तीनवटै तहका सरकारका जिम्मेवारी बाँडफाँट, जवाफदेहिताको सुनिश्चितता, स्रोत व्यवस्थापन, क्षमता विकास र सुशासनका प्रयास तथा बाह्य क्षेत्र सुधार गर्न चालिएका कदम, मूल्य अभिवृद्धि करलगायत समग्र कर प्रणालीको सुधारले सकारात्मक संकेतहरु देखिएको अर्थमन्त्री खतिवडाको भनाइ छ।
लगानी र रोजगारी सिर्जनामा निजी क्षेत्रको अग्रणी भूमिका रहेको भन्दै निजी क्षेत्रको विकासमा सार्वजनिक क्षेत्रको भूमिका परिपूरकको रुपमा रहने र निजी क्षेत्र आकर्षित नहुने क्षेत्रमा मात्र सरकार सक्रिय हुने उनले योजना सुनाए।
विश्व बैंकबाट वार्षिक रुपमा प्रकाशित हुने 'डुइङ विजनेस इन्डेक्स'मा नेपालले यो वर्ष उल्लेख्य सुधार गरेको छ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।