जनकपुर- 'नेपाल भ्रमण वर्ष २०२०'को प्रवर्द्धनात्मक कार्यक्रमको बिहीबार जनकपुरधामबाट शुभारम्भ गरिएको छ।
मिथिलाञ्चलको प्रमुख चाड 'छठ'को पूर्वसन्ध्यामा नेपाल भ्रमण वर्ष संयोजन समिति, संघीय सरकार र प्रदेश सरकारको संयुक्त आयोजनामा जनकपुरधामको तिरहुतिया गाछीमा आयोजित कार्यक्रममार्फत् उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायतले संयुक्त रुपमा हातेमालो गर्दै 'नेपाल भ्रमण वर्ष २०२०' को प्रवर्द्धनात्मक कार्यक्रमको शुभारम्भ गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले नेपालको प्राकृतिक, धार्मिक र सांस्कृतिक संगम विश्वकै लागि अनुपम रहेको बताए। उनले हिमालको चुचुरोदेखि तराई मधेशका फाँटसम्मको प्राकृतिक सौन्दर्यताको वर्णन गर्दै धार्मिक आस्थाको केन्द्र जनकपुर, लुम्बिनी लगायतका क्षेत्रहरु पर्यटक लोभ्याउन पर्याप्त रहेको जिकिर गरे।
मुलुकको समृद्धिको लागि पर्यटन प्रमुख आधार बन्नसक्ने धारणा राख्दै उनले पर्यटन क्षेत्रको विकास गर्न संघ, प्रदेश र स्थानीय सरकारहरुलाई हातेमालो गर्न आग्रह गरे।
कार्यक्रममा संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले पर्यटनको विकासको लागि संघीय सरकार तत्पर रहेको बताए। उनले पर्यटकीय क्षेत्रको विकासमा प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको पनि स्पष्ट पारे।
मन्त्री भट्टराईले जनकपुर विमानस्थल क्षेत्रीय र निजगढलाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थलको रुपमा विकास गरिने बताउँदै भने, ‘अब छोरानातिहरु विदेश जाँदा प्लेन चढ्न काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य हुनेछ।’

प्रदेश २ धार्मिक र सांस्कृतिक हिसाबले एकदमै महत्वपूर्ण रहेको चर्चा गर्दै उनले सबैसँग समन्वय तथा छलफल गरेर सप्तरीको छिन्नमस्तादेखि बाराको गढीमाईसम्म धार्मिक एवम् सांस्कृतिक सर्किट बनाउने घोषणा गरिने जानकारी दिए।
त्यसैगरी, जनकपुरदेखि पशुपतिनाथ, पशुपतिनाथदेखि मुक्तिनाथ र मुक्तिनाथदेखि दामोदरकुण्डसम्मको रामायण सर्किटलाई समेत कार्यान्वयनमा ल्याउन मन्त्रालय लागिसकेको बताउँदै उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाममा गरेको संयुक्त घोषणालाई मुर्तरुप दिइने प्रतिवद्धता जनाए।
कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले प्रदेशभित्र धार्मिक करिडोरको निर्माण गर्ने प्रक्रिया सुरु गरिसकेको बताए। उनले यसमा सहयोग गर्न संघीय सरकारलाई आग्रह गर्दै पर्यटकीय विकासमा संघ सरकारसँग हातेमालो गर्न तयार रहेको प्रतिवद्धता जनाए।

मुख्यमन्त्री राउतले प्रदेश २ को विकासविना मुलुकको समृद्धि सम्भव नरहेको जिकिर गर्दै प्रदेश सरकारले धार्मिक पर्यटनको महत्व बुझेर नै आफ्नो विकासको पहिलो कदम जानकी मन्दिरबाट सुरु गरेको जनाए। उनले अन्य पर्यटकीय स्थलहरुको विकासमा समेत प्रदेश सरकार प्रतिवद्ध रहेको धारणा राखे।
कार्यक्रममा विभिन्न कलाकारहरुले आफ्नो संस्कृतिको झल्को दिनेगरी प्रस्तुतिसमेत दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।