काठमाडौं- दार्जुलाका मदन कार्कीलाई सरकारले एजेन्ट खारेज गरेको सम्बन्धमा कुनै जानकारी थिएन। वैदेशिक रोजगारीमा पुगेर फर्किएका मदन केही समय घरको काम गरेर बसिरहेका थिए। घरको कामले घरखर्च टार्न मुस्किल भएपछि मदन पुनः वैदेशिक रोजगारीमा जान काठमाडौं आए।
काठमाडौंमा मदनले विनोद कुँवरसँग भेट भयो। ती व्यक्तिले मदनलाई भने, ‘म एउटा म्यानपावरमा काम गर्छु। युएईमा राम्रो कामको डिमान्ड आएको छ। त्यो काममा जाने भए १ लाख २० हजार लाग्छ।’ तर उनी कुन म्यानपावरमा आबद्ध थिए, त्यो उनले खुलाएनन्।
एजेन्टले देखाएको राम्रो काम र कमाईको प्रलोभनमा विनोद लोभिए। सबै कुरा विश्वास गरेर मदन युएई जान तयार भए। मदनसँग वैदेशिक रोजगारीमा जाने सबै रकम थिएन। साहुबाट ऋण गरेर उनले सुरुमा ६० हजार विनोदलाई बुझाए।
‘मैले आइएमई गरेर उसलाई ६० हजार बुझाएँ, भिसा भोलि आउँछ, भोलि आउँछ भन्दा भन्दै मलाई झुलाइरह्यो। अहिले त फोन पनि अफ गरेको छ। साहुबाट लिएको ऋण कसरी तिर्ने होला?’ मदनले नेपाल लाइभसँग दुखेसो पोखे।
सरकारले एजेन्ट खारेज गरिसकेपछि नै २६ अगस्ट २०१९ अर्थात् २०७६ भदौ ९ गते उनले एजेन्टलाई ६० हजार रुपैयाँ आइएमईमार्फत बुझाएका थिए। मदन भन्छन्, ‘मैले मेरी श्रीमती मधु कार्कीका नामबाट विनोद कुँवरलाई ६० हजार पठाएको हो, पैसा पठाएपछि ऊ सम्पर्कविहीन छ। अब उसलाई कसरी भेट्ने उजुरी गर्न म वैदेशिक रोजगार विभाग गएँ। विभागले हामीले यो घटनाको उजुरी हेर्न मिल्दैन भन्यो। ऋण गरेर ल्याएको साहुको पैसा कसरी तिर्ने?’
मदनसँग विनोदलाई आइएमईमार्फत् रकम पठाएको प्रमाण भएपनि वैदेशिक रोजगार प्रयोजनका लागि नखुलाइका कारण विभागमा उजुरी दर्ता भएन। उनी निराश भएर फर्किए।
000
सरकारले एजेन्ट खारेज गरेपनि एजेन्टबाट कामदार ठगिने प्रवृत्ति भने रोकिएको छैन। मदनजस्ता थुप्रै युवाहरु एजेन्टबाट ठगिएका छन्। असोज महिनामा मात्रै एजेन्टबाट ठगिएका २५ जना युवाहरुले विभागमा उजुरी दिएका छन्। पीडितहरुले २ करोड २८ लाख ९५ हजार मागदाबी गरेका छन्। यो संख्या असोज महिनामा विभागमा उजुरी दिने पीडितहरुको मात्रै हो। विभागमा बाहेक एजेन्टले ठगेका उजुरीहरु प्रहरीमा समेत दर्ता हुने गरेका छन्।
असोज महिनाको वैदेशिक रोजगार विभागको तथ्यांक हेर्दा श्रमिकहरुबाट म्यानपावरले भन्दा मोटो रकम एजेन्टले नै ठगी गरेका छन्। विभागमा ८८ वटा म्यानपावरविरुद्ध उजुरी परेका छन् भने ती म्यानपावरविरुद्ध २ करोड २ लाख ३८ हजारको मागदाबी गरिएको छ।
सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन २०७५ (प्रमाणीकरण मिति २०७५ फागुन गते) दफा २६ को उपदफा १० (क)ले वैदेशिक रोजगार ऐन २०६४ को दफा ७४ को उपदफा २ मा गरिएको संशोधित व्यवस्था अनुसार वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधि (एजेन्ट) खारेज गरिसकेको छ। २०७६ जेठ २३ गते वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै वैदेशिक रोजगारी सम्बन्धी एजेन्टमार्फत कुनै पनि क्रियाकलाप नगर्न वा नगराउन भन्दै सूचनासमेत जारी गरिसकेको छ।
तर सरकारले यो प्रावधान लागू गरेपछि पनि एजेन्टहरुले युवाहरुलाई आफू म्यानपावरमा आबद्ध रहेको भनी विभिन्न प्रलोभन देखाएर ठगी गर्ने गरेको भन्दै उजुरी गर्ने क्रम भने रोकिएको छैन।
सरकारले गरेको पछिल्लो व्यवस्थापछि बिचौलियाले श्रमिकबाट रकम असुली गरी फरार हुने प्रवृत्ति बढेको पाइएको हो। वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईँले सरकारले एजेन्ट खारेज गरिसकेकाले विभागले वैदेशिक रोजगारीमा एजेन्ट भन्ने शब्द नै उच्चारण नगर्ने बताए। ‘हामीले एजेन्ट भन्ने शब्द नै लिँदैनौँ। विभागमा अहिले पनि व्यक्ति उपरका उजुरीहरु आइरहेका छन्। वैदेशिक रोजगारीसँग जोडिएका यस्ता उजुरीहरु विभागको अनुसन्धान शाखामार्फत वैदेशिक रोजगार न्यायाधिकरणमा पठाउँछौँ,’ निर्देशक गुरागाईँले भने,‘ वैदेशिक रोजगारी भनेर नखुलाइएका उजुरीहरु विभागले हेर्न मिल्दैन।’
सरकारले एजेन्ट खारेज गरेपछि पनि वैदेशिक रोजगारीका नाममा श्रमिकहरु व्यक्तिबाट ठगिने प्रवृत्ति कायमै रहेको निर्देशक गुरागाँइले स्वीकार गरेका छन्। ‘सरकारले एजेन्ट खारेज गरेसँगै 'अब एजेन्टबाट कुनै पनि कारोबार नगर्नू' भनेर हामीले विभिन्न सञ्चारमाध्यममार्फत् सूचना समेत प्रकाशन/प्रसारण गरिहेका छौँ, तर पनि एजेन्टबाट ठगिएका घटना र उजुरीहरु आइरहेका छन्’ उनले भने, सरकारले एजेन्ट खारेज गरेपछि पनि एजेन्टबाटै कारोबार गर्नु श्रमिक आफैँको कमजोर पक्ष हो।’
वैदेशिक रोजगारीका नाममा ठगी हुन्छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि प्रलोभनमा परेर रकम बुझाउने र पछि ठगिएपछि थाहै नपाएर ठगिएँ भन्ने प्रवृत्तिले वैदेशिक रोजगारीमा भएका ठगीका समस्या जटिल बन्दै गएको निर्देशक गुरागाईँको भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।