काठमाडौं- नर्सिङ केयरका लागि जापान जाने नेपाली श्रमिकहरूको पहिलो चरणको नर्सिङ केयर जापानिज ल्याङ्ग्वेज इभ्यालुएसन टेस्ट सम्पन्न भएको छ।
पहिलो चरणको जापानिज ल्याङ्ग्वेज इभ्यालुएसन टेस्ट डिल्लीबजारस्थित युनिभर्सल कम्प्युटर ल्याङ्ग्वेज एन्ड इन्टिच्युटमा सम्पन्न भएको इन्स्टिच्युटले जनाएको छ।
अक्टोबर २७, २८ र २९ भाषा परीक्षा भएको हो।
भाषा परीक्षाको नतिजा परीक्षा दिएको केही बेरमै दिइएको परीक्षार्थीहरुले बताएका छन्। पहिलो चरणको भाषा परीक्षामा उत्तीर्ण हुनेहरुको नोभेम्बर ५, ६ र ७ सिप मुल्याङ्कन परीक्षा हुने फाउन्डेसनको वेबसाइटमा उल्लेख छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दिपक ढकालले भने परीक्षाको विषयमा फाउन्डेसनबाट मन्त्रालयलाई थप जानकारी नआएको बताए। उपसचिव ढकालले भने, ‘भाषा परीक्षाको विषयमा मन्त्रालयलाई आधिकारिक जानकारी आएको छैन। अबको केही दिनमा जापानिज टोली नेपाल आउने विषयमा छलफल भइरहेको छ, बाँकी अन्य कुराहरु पनि अब जापानिज टोली आएपछि टुंगो लाग्छ।’
नर्सिङ केयरमा जानका लागि कामदारले नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्ट र नर्सिङ केयर जापानिज ल्याङ्ग्वेज इभ्यालुएसन टेस्ट पास गर्नु पर्दछ। जसका लागि सिप परीक्षा ६० मिनेटको हुने फाउन्डेसनले जनाएको छ।
जसमा ४५ वटा प्रश्न सोधिएको थियो। ४० लिखित र ५ प्रश्न प्रयोगात्मक हुने यसअघि नै जानकारी दिइएको थियो।
केयर गिभर लैजाने विषयमा काठमाडौंस्थित जापानी दूतावास र नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सम्झौता भइसकेको छ। जापानले पहिलो चरणमा १ हजार जनालाई भाषा परीक्षामा सामेल गराउने जनाएको थियो। भाषा परीक्षामा कतिजना सामेल थिए र कतिजनाले भाषा परीक्षा उत्तीर्ण गरे भन्ने कुरा सार्वजनिक गरिएको छैन।
२०७५ चैत ११ माभएको सो श्रम सम्झौताअनुसार पहिलो पटक नेपालबाट नर्सिङ तथा केयर गिभरमा कामदार लैजाने भनिएपनि सम्झौताभन्दा फरक मोडालिटीबाट कामदार लैजान लागिएको पाइएको छ। कामदारको मोडालिटीका सम्बन्धमा पनि अझै जापानी टोलीसँग पुनः छलफल अघि बढाइने मन्त्रालयले जनाएको छ। (तस्बिर- निक्की एसिया रिभ्यू)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।