पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै ग्रान्डी अस्पतालका मेडिकल निर्देशक डा पाण्डे।
काठमाडौं- उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै डिस्चार्ज गरिने भएको छ।
यसअघि ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न ग्रान्डी अस्पताल पुगेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि प्रधानमन्त्री आजै डिस्चार्ज हुने बताएका थिए।
प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिन ग्रान्डी अस्पतालले बिहीबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको अवस्था अहिले राम्रो रहेको जानकारी दिइएको छ। ‘प्रधानमन्त्रीज्यू राम्रो अवस्थामा हुनुहुन्छ,’ अस्पतालका मेडिकल निर्देशक डा चक्रराज पाण्डेले पत्रकार सम्मेलनमा भने, ‘उहाँ अहिले ‘चियरफुल’ मुडमा हुनुहुन्छ।’
डायलाइसिस समान्य विधि भएको भन्दै डा पाण्डेले भने, ‘यसलाई समान्य रुपमा लिनुहोस्। डाइलायसिसपछि उहाँको स्वास्थ्य स्थिति अझैँ राम्रो भएको छ।’
पत्रकार सम्मेलनपछि जारी प्रेस विज्ञप्तिमा पनि ग्रान्डी अस्पतालले प्रधानमन्त्रीको आजै डिस्चार्ज हुने बताइएको छ। 'प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण र उपचारको क्रममा हेमोडायलाइसिस गरिएको छ। आज मिति २०७६ कात्तिक १४ गते सम्माननीय प्रधानमन्त्रीज्यूलाई डिस्चार्ज गरिँदैछ,' प्रधानमन्त्रीकी निजी चिकित्सक डा दिव्यासिंह शाह र अस्पतालका मेडिकल निर्देशक पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

निर्देशक पाण्डेले डायलाइसिस नियमित गर्नुपर्ने या नपर्नेबारे पनि प्रष्ट जवाफ दिएनन्। उनले यसबारे ‘उपचार गर्दै निर्णय हुँदै जाने’ बताए।
तर, ग्रान्डी अस्पताल स्रोतले नेपाल लाइभलाई प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलाइसिस साताको २ पटक गर्नुपर्ने बताएको थियो।
प्रधानमन्त्रीको मिर्गौलाको बुधबार र बिहीबार गरी दुईपटक डायलाइसिस भइसकेको छ।

प्रधानमन्त्री ओलीको रगतमा क्रियटिनिन, युरिया र पोटासियमको मात्रा बढेपछि डायलासिस थालिएको हो। प्रारम्भिक डायलाइसिस बुधबार नै गरिएको थियो।
प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो।
(तस्बिर- निमेष जंग राई)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।