काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको आजै डिस्चार्ज हुने भएको छ।
ग्रान्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीसँगको भेटपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रधानमन्त्रीको आजै डिस्चार्ज हुने बताएका हुन्। ओलीसँगको भेटपछि चिकित्सकहरुले आफूलाई प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौलाको डायलाइसिस सम्पन्न भएको जानकारी दिँदै आजै डिस्चार्ज हुने जानकारी दिएका हुन्।
'केही समय रेस्ट गरेर उहाँ डिस्चार्ज हुँदै हुनुहुन्छ। उहाँ आज बालुवाटार जाँदै हुनुहुन्छ,' उनले भने, 'चिकित्सकका अनुसार अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य छ।'
प्रचण्डले प्रधानमन्त्रीको आज दोस्रोपटक सफलतापूर्वक डायलाइसिस सम्पन्न भएको जानकारी दिए। अस्पताल स्रोतका अनुसार उनको दोस्रोपटकको डायलाइसिस प्रक्रिया बुधबार दिउँसो करिब १ बजेबाट सुरु भएको थियो।
थप डायलाइसिस गर्नुपर्ने/नपर्नेबारे भने भोलि/पर्सीको अवस्था हेरेर मात्रै केही भन्न सकिने चिकित्सकहरुले बताएका प्रचण्डको भनाइ छ। 'नियमित डायलाइसिस गर्नुपर्नेबारे अहिले फाइनल भइसकेको छैन,' उनले भने।
यसअघि दोस्रोपटकको डायलाइसिस प्रक्रिया पूरा भएपछि उनलाई आइसियूबाट क्याविनमा सारिने बताइएको थियो।
'प्रधानमन्त्रीले मसँग कुरा गर्नुभयो,' प्रचण्डले भने, 'यसपटक पहिलेभन्दा अलिकति छिटो-छिटो समस्या देखा पर्यो भन्नुभयो। अरु सबै ठिकै छ भन्नुभएको छ।' प्रचण्डले पहिलोपटकको डायलाइसिसमा संक्रमण भएर दोस्रोपटक आज डायलाइसिस गरिएको भन्नेबारे भने चिकित्सकले आफूलाई केही जानकारी नदिएको स्पष्ट पारे।
यसअघि आजै प्रधानमन्त्रीलाई भेट्न नेकपा सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा नेकपा स्थायी कमिटी सदस्य भीम रावल समेत अस्पताल पुगेका थिए। तर, उनको डायलाइसिस प्रक्रिया चलिरहकोले प्रधानमन्त्रीलाई भने उनीहरुले भेट्न पाएका थिएनन्।
तर, प्रधानमन्त्रीको निजी सचिवालय, उपचारमा संलग्न चिकित्सक र अस्पतालले डायलाइसिस भइरहेको विषयलाई गोप्य राखेको छ।
प्रधानमन्त्री ओलीको रगतमा क्रियटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलासिस थालिएको हो। प्रारम्भिक डायलाइसिस बुधबार नै गरिएको थियो।
प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। उक्त मिर्गौलामा समेत समस्या आउन थालेको छ। उनले गत भदौमा सिंगापुर गएर 'प्लाज्माफेरेसिस' गरेका थिए। रगतमा 'एन्टिबडी' बढेपछि प्लाज्माफेरेसिस प्रक्रियामार्फत् उपचार गरिएको थियो। (तस्बिर- निमेष जंग राई)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।