काठमाडौं- योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट २ योगदानकर्ताका आश्रित परिवारले सुविधा पाउन थालेका छन्। कोषमा सूचीकृत भई योगदान आरम्भ गरिसकेको अवस्थामा सडक दुर्घटनामा परी ज्यान गुमाएका २ योगदानकर्ताका आश्रित परिवारले सुविधा भुक्तानी लिन थालेका हुन्।
सामाजिक सुरक्षा नम्बर २०७६०००३०५१ का इन्जिनियर रुपेन्द्र थापा र अर्का योगदानकर्ता प्रकाश तामाङ मोक्तानका आश्रित परिवारले सुविधा भुक्तानी पाउन थालेका हुन्। कैरोश क्याफे प्रालिमा कार्यरत प्रकाशको सामाजिक सुरक्षा नम्बर २०७६०००१३७९५ रहेको छ।
आश्रित परिवार सुरक्षा योजना अन्तर्गत योगदानकर्ताका परिवारलाई अन्तिम दाहसंस्कार खर्च प्रति परिवार २५ हजार रुपैयाँ प्रदान गरिएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए।
मृतक योगदानकर्ता रुपेन्द्र थापाका परिवारलाई मासिक १७ हजार १ सय र प्रकाश तामाङ मोक्तानका परिवारलाई मासिक १ हजार २ सय सुविधा भुक्तानी (आधारभूत पारिश्रमिकको ६० प्रतिशत) प्रदान गर्न थालिएको कोषले जनाएको छ।
साथै योगदानकर्ताले जम्मा गरेको योगदान रकममध्ये वृद्धावस्था सुरक्षा योजना अन्तर्गतको संकलित रकम तथा प्रतिफलसमेत जोडी हुन आउने रकम एकमुष्ठ प्रदान गरिने प्रकृयासमेत अघि बढिसकेको कोषका कार्यकारी निर्देशक ज्ञवालीले बताए।
योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअन्तर्गत सामाजिक सुरक्षा कोषले प्रारम्भमा औषधि उपचार तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजनासहित ४ वटा सुरक्षा योजनाहरु अघि सारेको छ।
आश्रित परिवार सुरक्षा योजना अन्तर्गत योगदानकर्ताको कुनै कारणले मृत्यू भएमा पति वा पत्नीले पाउने निवृत्तभरण, सन्ततिले पाउने शैक्षिक वृत्ति,आश्रित बाबु आमाले पाउने सुविधा र अन्तिम संस्कार खर्चसम्मका सुविधाहरु छन्।
यस योजना अन्तर्गत जुनसुकै कारणबाट योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशतको दरले निजले जीवनभर सुविधा पाउने व्यवस्था छ।
तर योगदानकर्ताको पति वा पत्नीले अर्को विवाह गरेमा वा निजको वैकल्पिक रोजगार रहेको अवस्थामा भने यो सुविधा दिइँदैन।
योगदानकर्ताको मृत्यु भएको अवस्थामा निजको १८ वर्ष उमेर पूरा नभएका छोराछोरी भएमा १८ वर्षको उमेरसम्म शैक्षिकवृत्ति वापत योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रुपमा पाउने व्यवस्था छ।
योगदानकर्ताको पति वा पत्नी वा छोरा वा छोरी नभएको अवस्थामा आश्रित परिवार सुरक्षा योजनाको रकम निजको आमाबुबालाई आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम निजहरुको जीवनभर मासिक रुपमा प्रदान गरिने व्यवस्था छ।
सरकारले निजी क्षेत्रका रोजगारदाता तथा श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन अनिवार्य गरेको छ। हालसम्म कोषमा १ लाख ९ सय भन्दा बढी श्रमिक र ८ हजारभन्दा बढी रोजगारदाता सूचीकृत भइसकेका छन्।
कात्तिक १३ गतेदेखि मंसिर १३ गतेसम्म सम्पूर्ण रोजगारदाता तथा श्रमिक कोषमा सूचीकृत भइसक्न कोषले आह्वान समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।