काठमाडौं- सुन्धारा भोटेबहालकी मैयाँ डंगोल तिहारमा दाजुभाइका लागि भाइमसला किन्न बिहीबार बजारमा निस्किएकी थिइन्।
इन्द्रचोकमा भाइमसला किन्दै गर्दा भेटिएकी उनी बजारमा निस्कन विस्तारै भिड बढ्ने र फूर्सद पनि नहुने हुँदा बिहीबार नै तिहारका लागि आवश्यक सामग्री किन्न निस्किएकी हुन्।
अघिल्ला वर्षहरुमा पनि असनबाटै तिहारका लागि आवश्यक सामग्री खरिद गर्दै आइरहेकी उनले अघिल्लो वर्षमा भन्दा यस वर्ष भाइ मसला लगायत सामानको मूल्य बढी भएको बताइन्।
‘भाइमसलाको मूल्य अघिल्लो वर्षमा भन्दा बढेछ, सुकुमेल अघिल्लो वर्ष मैले साढे १२ सयमा आधा केजी किनेको। यो वर्ष आधाकेजीलाई २ हजार दुई सय पर्यो,’ मैयाँले नेपाल लाईभलाई सुनाइन्।
बजारमा भाइमसला खुल्ला किन्न पनि पाइन्छ। त्यस्तै हेर्दा आकर्षक डिजाइन बनाएर प्याकिङ गरिएका भाइ मसलाहरु पनि राखिएका छन्।
‘खुद्रा बजारमा पाइने यस्ता प्याकिङ गरिएका भाइमसला आकर्षक देखिए पनि भित्र खोलेर हेर्दा कतिपय मसलाहरु खानै नमिल्ने गरी बिग्रिएको हुँदा म खुल्ला नै किन्छु,’ मैयाँले भनिन्।
‘इन्द्रचोकमै भेटिएकी थानकोटकी सरु श्रेष्ठ भने प्याकिङ गरिएको भाइ मसला किन्दै थिइन्। बाहिरबाटै देखिने गरी पारदर्शी प्लाष्टिकमा भएकाले भित्र भएको सबै कुरा देखिन्छ, हेर्दा पनि राम्रो, तिहारमा दाजुभाइलाई दिन पनि एकदम सजिलो, म त यस्तै प्याकिङ गरिएको मसला नै किन्छ,’ सरुले भनिन्, 'बाहिर हेर्दा त राम्रो छ, खान पनि राम्रो होला।’
(1).jpg)
नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिएसँगै बजारमा चहलपहल बढेको छ। तिहारका लागि आवश्यक सामान किन्न फूटपाथ देखि डिपार्टमेन्ट स्टोरसम्म भिड लागेको छ।
२ हजारसम्मका भाइमसला
इन्द्रचोक, असनलगायत स्थानमा ५० रुपैयाँदेखि १ हजारसम्मका भाइमसला व्यापारका लागि राखिएको व्यापारीहरुले बताएका छन्।
भोटाहिटीदेखि इन्द्रचोकसम्मका व्यापारीहरुसँग नेपाल लाइभले प्रतिक्रिया लिँदा उनीहरुले ५० रुपैयाँ देखि १ हजारसम्मका भाइ मसलाका प्याकेटहरु राखिएको बताए।
(1).jpg)
अनामनगर भाटभटेनीमा भने ४ सयदेखि १७ सयसम्मका भाइ मसलाका प्याकेट रहेको भाटभटेनीले जनाएको छ।
त्यस्तै अन्य सुपर स्टोरहरुमा पनि भाइ मसलाको प्याकेटको मूल्य ४ सयदेखि २ हजारसम्म रहेको भेटिएको छ।
अर्बौंको कारोबार
तिहारका लागि आवश्यक भाइमसला व्यापार गर्ने व्यापारीहरुको लगभग एक हप्ता मात्रै राम्रो व्यापार हुन्छ।
एक जना व्यापारीले नै तिहारको समयमा लाखौँको व्यापार गर्छन्। ‘तिहार सुरु हुनु केही दिन अगाडिदेखि भाइटीकाको अघिल्लो दिनसम्म राम्रो व्यापार हुन्छ, लगानी पनि ठूलै चाहिन्छ। आम्दानी पनि राम्रो हुन्छ,’ इन्द्र चोकका व्यापारी सहदेव चौधरीले भने।
‘तिहारका लागि बेच्न राखिएका भाइमसला धेरैजसो बिक्री हुने गरेको छ। केही बाँकी रहे पनि होलसेलले नै त्यो बाँकी सामान फिर्ता लैजान्छन्,’ इन्द्र चोकका अर्का व्यापारी ईश्वरमान महर्जनले भने।
पछिल्लो समय बजारमा भाइमसलाको माग निकै ठूलो छ।
(1).jpg)
उपत्यका लगायत विभिन्न ठाउँमा तिहारको समयमा अर्बौं रकमको भाइमसलाको व्यापार हुने नेपाल खुद्रा व्यापार संघले अनुमान गरेको छ।
'तिहारको समयमा भाइमसलाको ठ्याक्कै यति नै रकमको व्यापार हुन्छ भनेर हामीले रेकर्ड नराखे पनि पछिल्लो समय भाइमसलाको व्यापार निकै राम्रो छ,' नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले नेपाल लाईभलाई बताए।
परनिर्भरता
तिहारका लागि बजारमा अत्यधिक माग रहने भाइमसलालगायतका फलफूलमा नेपाल परनिर्भर छ।
तिहारका लागि आवश्यक मानिने मसलाजन्य वस्तु तिहारमा मात्रै झन्डै ४ अर्बको हाराहारीमा आयात हुने भन्सार विभागले जनाएको छ।
विभागको तथ्यांक अनुसार चालू आथिर्क वर्षमा ३५ लाख केजी नरिवल आयात भइसकेको छ। यसैगरी, ३ लाख १४ हजार केजी काजु, २ लाख ४० हजार केजी ओखर, ५४ हजार केजी पेस्ता, ९ लाख ५६ हजार केजी खजुर/छोकडा लगायत ४ अर्ब बराबरको मसला आयात भएको छ।
नेपालमा सबैभन्दा बढी भाइमसला भारतबाट आउने गरेको छ। भारतसँगै चीन, अमेरिका भियतनाम, युएई, थाइल्याण्ड, कतार लगायतका दर्जनभन्दा बढी मुलुकबाट मसला जन्य सामग्री आयात हुने गरेको छ।
बढ्यो मूल्य
तिहारमा दाजुभाइलाई दिने भाइमसला धेरै किसिमका छन्। खासगरी ओखर, मिस्री, नरिवल, छोकडा, खजुर, मखन, सुकुमेल, ल्वाङ, काजु, बदाम, पेस्ता, दालचिनी, खुर्पानीलगायतका भाइमसलाहरुको माग बढी छ।
यीनिहरूको मूल्य फरकफरक निर्धारण गरिएको छ।
‘अघिल्लो वर्षको तुलनामा यो वर्ष भाइ मसलाको मूल्य खासै बढेको छैन, दुई/तीन थरी मसलाको मूल्य बढेको छ, केही त घटेको पनि छ,’ नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले भने।
यो वर्ष सुकुमेलको मूल्य भने दोब्बर बढेको छ।
(1).jpg)
अघिल्लो वर्ष प्रतिकेजी २ हजार ५ सय रहेको सुकुमेल यस वर्ष प्रतिकेजी ४ हजार ५ सय देखि ५ हजार ५ सय सम्म रहेको संघका अध्यक्ष श्रेष्ठले बताए।
त्यस्तै काजुको मुल्य प्रतिकेजी १ हजार ५ सय देखि १ हजार ८ सयसम्म छ। बदामको मूल्य प्रतिकेजी १२ सय, पेस्ता प्रतिकेजी १५ सय देखि १९ सयसम्म, ओखर प्रतिकेजी ६ सय, अघिल्लो वर्ष प्रतिकेजी ४ सय ५० देखि ५ सय सम्म रहेको नरिवल प्रतिकेजी ४ सय सम्म, मिश्री १ सय ७० देखि ४ सयसम्म, अन्जिर १२ सय, खुर्पानी १ हजार, सुपारी ६ सयदेखि ८ सय सम्म, ल्वाङ प्रतिकेजी १८ सय, दालचिनी प्रतिकेजी ५ सय ५० रहेको छ।
प्याकिङ गरेर आकर्षक बनाइ राखिएका भाइ मसलाहरु हेर्दा जति आकर्षक देखिन्छन प्रयोग गर्दा ति मसलाको गुणस्तर कम हुने उपभोक्ताहरुले गुनासो गर्दै आइरहेका छन्। तर यस वर्ष त्यस्तो समस्या नरहने खुद्रा व्यापार संघका अध्यक्ष श्रेष्ठले बताए।
(1).jpg)
‘कतिपय होलसेल पसलहरुले तिहारको समयको लागि बनाइएका भाइ मसलाका प्याकेटहरु स्टक रहेमा फिर्ता लैजाने गरेका छन्’ उनले भने, ‘जति व्यापार हुन्छ हामीले बेच्छौँ, बाँकी रहेको होलसेलले नै लैजान्छ जसले गर्दा अब भाइ मसलामा त्यस्तो सडेगलेको हुने समस्या नहोला। यसमा उपभोक्ताहरु पनि चलाख हुनु पर्छ। उत्पादन मिति र उपभोग्य मिति हेरेर मात्रै खरिद गर्ने बानी बसाल्नु पर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।