बैतडी- बैतडीमा डोजरले नागरिकमाथि आक्रमण गरिएको घटनाको छानबिन गर्न गठन भएको समिति घटनास्थल पुगेको छ।
जिल्ला प्रशासन कार्यालय बैतडीले गठन गरेको ५ सदस्यीय छानबिन समिति बुधबार दशरथचन्द नगरपालिका-९ ग्वाल्लेक पुगेको हो।
समितिले छानबिन गरी ४८ घन्टाभित्र प्रतिवेदन बुझाउने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।
सोमबार भएको घटनाको सर्वत्र आलोचना भएपछि जिल्ला प्रशासन कार्यालय बैतडीले मंगलबार छानबिन समिति गठन गरेको थियो।
सोमबार जिल्लाको दशरथचन्द नगरपालिका-९ ग्वाल्लेकमा डोजरले स्थानीय महिलालाई हुत्याएर फालेको थियो।
डोजरले स्थानीय गौरी जोशीलाई हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले नियन्त्रणमा लिएका चालक किशोर बोहराविरुद्ध मंगलबार नै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ।
दशरथचन्द नगरपालिका-९ ग्वाल्लेकको सुण्न्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो।
झडपका बेला सडक रोक्नुपर्छ भन्ने पक्षका गौरी जोशीलाई डोजरले हुत्याएको थियो।
अहिले जोशीको कोहलपुरमा उपचार भइरहेको छ।
यो घटनामा ढुंगा हानाहान हुँदा दुवै पक्षका सात जना समान्य घाइते भएका थिए।
उनीहरु जिल्ला अस्पताल बैतडीमा समान्य उपचारपछि घर फर्किसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।