काठमाडौं- जापानका नयाँ सम्राट नारुहितोले एउटा भव्य समारोहका बीच औपचारिक रुपमै राजगद्दी आरोहण गरेका छन्।
स्वास्थ्य र उमेरको कारण देखाउँदै उनका ८५ वर्षीय पिता अकिहितोले राजगद्दी परित्यागको घोषणा गरेपछि नारुहितो गत मे महिनामा जापानको सम्राट बनेका थिए।
विभिन्न परम्परागत विधि सम्पन्न भएपछि ५९ बर्षीय नारुहितोले करिब २ हजार पाउनका अघि मंगलबार औपचारिक रूपमा राजगद्दी आरोहण गरेका हुन्। राजगद्दी आरोहणसँगै नारुहिताृ जापानको १ सय २६ औँ सम्राट बनेका छन्।
नेपालकी राष्ट्रपति विद्या भण्डारी पनि नारुहितोको राज्याभिषेकमा सहभागि भएकी छिन्।
बेलायतका राजकुमार चार्ल्सलगायत विश्वभरका शाही प्रतिनिधि जापानमा गएका छन्।
सम्राटहरूले विशेष अवसरमा लगाउने परम्परागत वस्त्र धारण गरेर नारुहितो साढे छ मिटर अग्लो ताकामिकुरा राजगद्दीमा बसेका थिए।
‘राष्ट्र र जनताको एकताको प्रतीकका रूपमा आफ्नो उत्तरदायित्व वहन गर्न म संविधानअनुसार काम गर्ने शपथ लिन्छु,’ एउटा लिखित मन्तव्य वाचन गर्दै नारुहितोले भने ।
राज्याभिषेक समारोहमा सम्राटकी पत्नी साम्राज्ञी मासाको सँगै रहेको अर्को आसनमा बसेकी थिइन्।

जापानी प्रधानमन्त्री शिन्जो आबेले सम्राटलाई बधाई ज्ञापन गर्दै सम्बोधन गरेका थिए।
समारोहमा उपस्थितले ‘सम्राट चिरायु रहून’ भन्दै नारा लगाएका थिए।
सम्राटले विदेशी शाही पाउनहरुका लागि चियापान आयोजना गर्ने छन् भने प्रधानमन्त्री आबेले सबै अतिथिहरूका लागि रात्रिभोज आयोजना गर्ने छन्।
राजगद्दी आरोहणका अवसरमा आयोजना गरिने शोभायात्रा भने जापानमा केही समय अघि आएको समुद्री आँधीका पीडितहरूप्रति सहानुभूति प्रकट गर्न आयोजना नगरिने भएको थियो।
कुनै समय जापान एक साम्राज्यवादी शक्ति थियो। ‘देशलाई धनवान बनाऊ, सैन्य शक्तिवान बनाऊ’ भन्ने नारा सहित काम गरेको जापानले करिब ७४ लाख वर्ग किलोमीटर क्षेत्र आफ्नो अधिनमा पारेको थियो।
सन् १९४२ तिर जापानी साम्राज्य चरमोत्कर्षमा थियो तर दोस्रो विश्व युद्धका बेला अमेरिकाले जापानमाथि आणविक हतियार प्रयोग गरेर आक्रमण गरेपछि जापानी साम्राज्य कमजोर बनेको थियो।
अहिले शक्तिशाली देश चीनलाई समेत आफ्नो अधिनस्थ बनाएको जापान दोस्रो विश्व युद्धपछि भने कमजोर बनेको छ।
को हुन् नारुहितो?
५९ वर्षीय नारुहितो २८ वर्षको उमेरमै युवराज घोषित भएका थिए। उनले अक्सफोर्ड विश्वविद्यालयमा अध्यन गरेका हुन्।
एक भोजका बेला उनले युवराज्ञी मासाकोलाई भेटेका थिए। सन् १९९३ मा उनीहरूको विवाह भएको थियो।
उनीहरुको एक्लो सन्तानको रूपमा सन् २००१ मा राजकुमारी आइको जन्म भएको थियो ।
महिलालाई गद्दी आरोहण गर्न अनुमति नहुने भएकाले राजकुमार फुमिहितो अबको उत्तराधिकारी हुनेछन्। गद्दी आरोहणको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।
सबै तस्बिर-एपी








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।