काठमाडौं- गैर आवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका चयनका लागि बिहीबार अबेरगरी मतदान सुरु भएको छ।
काठमाडौंको होटल हायातमा नयाँ नेतृत्व चयनका लागि एक दिन ढिला गरी एनआरएनएको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको हो।
बुधबार साँझ करिब आधा घण्टाभन्दा बढी समयसम्म चलेको मतदान इलेक्ट्रिक मेसिन बिग्रिएको भन्दै स्थगित गरिएको थियो। आज बिहान साढे ८ बजेबाट सुरु हुने भनिए पनि इलिक्ट्रिक मेसिन नबनेपछि मतपत्र नै बनाइ कागजी प्रक्रियाबाटै सुरु गरिएको हो।
मध्यान्हपछि सुरु भएको मतदान प्रक्रियामा विभिन्न ८१ देशबाट आएका २ हजार ६ सय ५६ जना एनआरएनए प्रतिनिधि सहभागी हुनेछन्।
निर्वाचनमा एनआरएनएका अध्यक्ष पदका प्रत्यासीद्धय कुमार पन्त र कूल आचार्यले आ-आफनो प्यानल बनाएर उम्मेदवारी दिएका छन्। चुनावी प्रचार अभियानका क्रममा पन्त र आचार्यले आ-आफ्नै पक्षको जीत हुने दावी पनि गरेका छन्।
सत्तारुढ नेकपा निकट मानिएका अध्यक्षका उम्मेदवार पन्तले एनआरएनएको सदस्यता निःशुल्क वितरण गर्ने विषयलाई मुख्य एजेन्डा बनाएका छन् भने प्रतिस्पर्धी आचार्यले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई राहत दिन छुट्टै ‘पसिना कोष’ स्थापना गर्ने विषयलाई मुख्य एजेन्डाको रुपमा अघि सारेका छन्।
पन्तले मुलुकको समृद्धिका लागि वैदेशिक लगानी भित्र्याउने एजेन्डालाई जोड दिएका छन्। निर्वाचनमा भाग लिनका लागि एनआरएनएका २६ सयभन्दा बढी प्रतिनिधिहरु सहभागी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।