काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनमा नयाँ कार्यसमिति चयनका लागि बुधबार बेलुका स्थगित भएको मतदान आज हुँदैछ।
बुधबार साँझ करिब साढे ८ बजे सुरु भएको मतदान आधा घन्टाभन्दा केही बढी समयसम्म चलेपछि स्थगित भएको थियो। मतदानका लागि विद्युतीय मेसिन प्रयोग गरिएको थियो। सो मेसिन बिग्रिएको भन्दै निर्वाचन समितिले मतदानको कार्यक्रम स्थगित गरिएको जानकारी दिएको थियो।
स्थगित मतदान बिहीबार बिहान साढे ८ बजेबाट पुनः सुरु हुनेगरी कार्यक्रम तय गरिएको निर्वाचन समितिले जनाएको छ। यसअघि बिहान १० बजेबाट सुरु हुने बताइएको थियो।
यसअघि सम्मेलनमा मतदानका लागि उपस्थित प्रतिनिधिले नाराबाजीसमेत गरेका थिए। विद्युतीय मतदान हुने सम्मेलनमा जम्मा २ हजार ६ सय ५६ जना प्रतिनिधि सहभागी छन्। विश्वका विभिन्न ८१ देशबाट एनआरएनए प्रतिनिधिको उपस्थिति रहेको बताइएको छ।
सम्मेलन स्थलमा नाराबाजी भएपछि उच्च सुरक्षा सतर्कता अपनाइएको थियो। मोबाइलसमेत आफ्नो साथमा राखेर मतदानस्थलमा प्रवेश गर्न प्रतिनिधिहरूलाई रोक लगाइएको थियो।
समयमा मतदान सुरू नभएको र उम्मेदवारीमा राजनीतिक भागबन्डा भएको भन्दै केही प्रतिनिधि नाराबाजीमा उत्रिएपछि प्रहरीले हस्तक्षेपसमेत गर्नुपरेको थियो।
आफूखुसी विधान परिवर्तन गर्न खोजिएको र मतदान सुरु नगर्ने खेल भएको भन्दै नाराबाजी भएको हो। उनीहरूले 'निर्वाचन बहिस्कार गरौं' भन्दै नारासमेत लगाएका थिए। पछि प्रहरीले बल प्रयोग गरी उनीहरुलाई तितरबितर पारेको थियो।
प्रतिनिधिहरुले विरोध गर्नसक्ने भन्दै आज पनि सम्मेलन स्थलमा सुरक्षा सतर्कता अपनाइएको छ।
एनआरएनएको विश्व सम्मेलन मंगलबारबाट काठमाडौंमा सुरु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।