काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनमा नयाँ कार्यसमिति चयनका लागि भइरहेको मतदान स्थगित भएको छ।
साँझ करिब साडे ८ बजे सुरु भएको मतदान आधा घन्टाभन्दा केही समय बढी समयसम्म मात्र भएर स्थगित भएको हो।
मतदानका लागि विद्युतीय मेसिन प्रयोग गरिएको थियो। सो मेसिन बिग्रिएको भन्दै निर्वाचन समितिले मतदानकाको कार्यक्रम स्थगित गरिएको जानकारी दिएको हो।
बिहीबार बिहान १० बजेबाट पुनः मतदान हुने गरी मतदानका कार्यक्रम स्थगित गरिएको समितिले बताएको छ। समितिले अहिले मतदानको कार्यक्रम स्थगित गरेको सूचना टाँस गर्ने तयारी गरेको छ।
यसअघि सम्मेलनमा मतदानका लागि उपस्थित प्रतिनिधिले नाराबाजी समेत गरेका थिए।
विद्युतीय मतदान हुने सम्मेलनमा जम्मा २ हजार ६ सय ५६ जना प्रतिनिधि छन्।
विश्वका विभिन्न ८१ देशबाट सम्मेलनका लागि राजधानी होटल हायातमा उनीहरू उपस्थित भएका छन्। नाराबाजी भएपछि उच्च सुरक्षा सतर्कता अपनाइएको थियो।
मोबाइलसमेत आफ्नो साथमा राखेर मतदानस्थलमा प्रवेश गर्न प्रतिनिधिहरूलाई रोक लगाइएको थियो।
समयमा मतदान माग गर्दै सुरू नभएको र राजनीतिक भागबन्डा हुने गरेको भन्दै केही प्रतिनिधिले नाराबाजी गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।
आफूखुशी विधानको परिवर्तन गर्न खोजिएको र मतदान सुरु नगर्ने खेल भएको भन्दै नाराबाजी सुरु गरिएको बताएको थियो।
उनीहरूले 'निर्वाचन बहिस्कार गरौं' भन्दै नारासमेत लगाएका थिए।
पछि प्रहरीले बल प्रयोग गरी नाराबाजीलाई तितरबितर पारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।