काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)का महासचिव बद्री केसीले बालुवाटारस्थित ललिता निवासको जग्गा किनेर आफूहरू ठगीमा परेको बताएका छन्।
सोमबार एनआरएनएले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव केसीले यस्तो बताएका हुन्।
नेपालको राज्य संयन्त्रलाई विश्वास गर्दा आफूहरू समस्यामा परेको महासचिव केसीको भनाइ छ। 'संस्थाको नाममा जग्गा छ। ब्युरोक्रेसीबारे नजान्दा अहिले समस्या आएको हो,’ उनले भने, ‘राज्यबाट जनता ठगिएझैं हामी पनि ठगियौं।’
पैसा तिरेर किनेको र लालपूर्जा संस्थाकै नाममा रहेको उनको जिकिर थियो।
सरकारी जग्गा भन्ने जान्दाजान्दै एनआरएनए नेतृत्व पनि उक्त घोटालामा सहभागी भएको भनी आलोचना भइरहेका बेला एनआरएनएले त्यस विषयमा जानकारी नभएको उल्लेख गरेको हो।
‘मुद्दा प्रक्रियामा छ। लालपूर्जा हामीसँग छ। अहिलेसम्म हाम्रै हो,’ महासचिव केसीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।