राजविराज- चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा प्रदर्शन गर्नसक्ने आशंकामा प्रहरीले सप्तरीमा एक महिला नेतृलाई पक्राउ गरेको छ।
समाजवादी पार्टीकी महिला नेतृ तथा अन्तरपार्टी महिला सञ्जाल सप्तरीकी जिल्ला अध्यक्ष सुनिता साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनी शुक्रबार राजविराज-६, खरसालटोलस्थित निवासबाटै पक्राउ परेकी हुन्।
महानगरीय प्रहरी वृत्त कमलपोखरीले पत्राचार गरेकाले पक्राउ गरिएको सप्तरीका एसपी कृष्ण प्रसाईंले बताए। कमलपोखरी वृतमा रहेको पुरानो मुद्दाका सन्दर्भमा उनलाई पक्राउ गर्न पत्र आएपछि पक्राउ गरिएको उनको भनाइ छ। साहलाई काठमाडौं पठाउने तयारी भइरहेको छ।
यद्यपि चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा प्रदर्शन गर्नसक्ने आशंकामा साहलाई पक्राउ गरिएको स्रोतले बतायो।
चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा उनीविरुद्ध भदौ २३ मा प्रदर्शन भएको थियो। प्रदर्शनमा सहभागी भएको भन्दै प्रहरीको कमलपोखरी वृत्तले १० जनालाई पक्राउ गरेको थियो। सोही क्रममा साहविरुद्ध पनि अभद्र व्यहारको मुद्दा चलाइएको छ।
विवाह गर्ने बहानामा चीनमा नेपाली चेली बेचबिखन भइरहेको भन्दै महिलाको समूहले ‘चेलीबेटी बेचबिखन बन्द गर, चीनमा मानव तस्करी बन्द गर’ नारा लेखिएका ब्यानर र प्ले कार्डसहित महिलाहरुले प्रदर्शन गरेका थिए।
चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा पनि पुनः प्रदर्शनमा सहभागी हुनसक्ने आशंकाका बीचमा साहलाई पुरानो मुद्दामा जोड्दै पक्राउ गरिएको श्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।