पाश्र्व गायनमा चम्किएको नाम हो– मेलिना राई। स्टेज कार्यक्रममा व्यस्त गायिकामा चिनिन्छन् उनी। र, स्टेजमा व्यस्त हुने धेरै कलाकारको दसैं विदेशमा बित्ने गर्छ। तर, मेलिना यसपाली नेपालमै छिन्। स्वदेशमै विभिन्न जिल्लामा आयोजित स्टेज कार्यक्रम पनि भ्याइरहेकी छिन्, परिवारसँग दसैं पनि मनाइरहेकी छिन्। उनीसँग नेपाललाइभले गरेको दसैं गफः
दसैं कस्तो भइरहेको छ ?
एकदम रमाइलो। यसपाली नेपालमै भइयो, विदेशमा कार्यक्रम परेन। घरपरिवारसँग भेटघाट गर्दै रमाइलो गरेर मनाइयो। देशभित्रै केही कन्सर्टहरु पनि थिए, त्यतै दर्शकहरुसँग रमाइलो गरेर पनि मनाइयो।
दसैंको सबैभन्दा मन पर्ने र मन नपर्ने पक्षचाँही के लाग्छ?
दसैंमा ठूलाबडाको आर्शिवादसँगै टीका लाउन पाइने र परिवार र आफन्तसँग भेटघाट गर्न पाइने पक्ष राम्रो लाग्छ। नराम्रोचाँही खासै केही लाग्दैन। त्यही हो, अरुको देखासिकीमा नरमाएर आफ्नै शैलीमा मनाए हुन्थ्यो भन्नेचाँही लाग्छ।
अहिलेसम्मकै सबैभन्दा अविस्मरणीय दसैं कुन सालको लाग्छ र किन ?
ठ्याक्कै साल त थाहा छैन तर दसैंवास्तवमा रमाइलोचाँही बालापनकै हुन्छ। सानोहुँदाको हरेक सालको दसँैमा मस्तिष्कमा अझै ताजा भएर बसेको छ। ती सानोका दसँैहरु सम्झिँदा आज पनि त्यही समयमा पुग्न पाए हुन्थ्यो भन्ने लाग्छ। नयाँ लुगा, नयाँ जुत्ता, मासु भात, मिठाई। आहा, त्यतिबेला दसैंको चार्म नै बेग्लै हुन्थ्यो। टिका थापेपछि पाइने दक्षिणाको महत्व उस्तै।
खुब दक्षिणा प्रेमी हुनुहुन्थ्यो क्यार?
अम्बो, मेन फोकस नै दक्षिणामा हुन्थ्यो नि। दादाहरुसँग कसले बढी दक्षिणा पाउने भन्ने प्रतिष्पर्धा हुन्थ्यो।
सबैभन्दा बढी दक्षिणा कसले दिन्थ्यो?
मामा र फुपुले। सबैभन्दा बढी ५ सय रुपैयाँ पाएको अझै बिर्सेको छैन।
दक्षिणाका लागि झगडा गरिन्थ्यो?
नाई, झगडा नै त गरिएन तर आफूभन्दा सिनियरले अलि बढी पाउँदा मन खिन्नचाँही हुन्थ्यो। त्यही भएर त बाल्यकाल (मुस्कुराउँदैं))।
चंगा उडाइन्थ्यो?
चंगाचाँही कहिल्यै उडाउन आएन। दादाहरुले हल्का सिकाउनु त भा’थ्यो तर आएन। अहिले पनि उडाएको छैन।
भुईं छोडिन्थ्यो?
अम्बो किन नछोड्नु? पिङ त मेरो सबैभन्दा फेभरेट थियो। अहिले पनि खेल्न मन लाग्छ। सानो बेलामा मच्चीमच्ची पिङ खेलिन्थ्यो। त्यो पनि पालैपालो लाइन बसेर।
तास खेलिन्छ?
तास त्यति राम्ररी आउँदैन। पहिले दाजुभाईसँग अलिअलि सिकेको थिएँ। तर पैसाको लागि खेलिएन, रमाइलोको लागिमात्रै।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।