काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले महिला तथा बालबालिका विरुद्धका हिंसामा शून्य सहनशीलता अपनाई कारबाही अघि बढाउन नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।
६४औं प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दे गृहमन्त्री थापाले आर्थिक अनियमितता तथा महिला र बालबालिका विरुद्धका हिंसाका घटनामा संलग्न तत्वलाई निस्तेज पार्न निर्देशन दिएका हुन्। उनले नाम उल्लेख नगरिकनै ‘जनताको भरोसा र विश्वास बोकेका’ व्यक्तिबाट हुने त्यस्ता क्रियाकलाप क्षम्य नहुने पनि स्पष्ट पारे।
पूर्वसभामुख कृष्णबहादुर महराप्रति लक्षित गर्दै उनले भने, 'आर्थिक अनियमितता, महिला तथा बालबालिकामाथि हुने हिंसा विरुद्धका हरेक क्रियाकलापविरुद्ध शून्य सहनशीलता अपनाई आपराधिक तत्वलाई निस्तेज पार्न डटेर काम गर्न सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिन चाहन्छु। जनताको भरोसा र विश्वास बोकेको कानुन कार्यान्वयन गर्ने संगठनको सदस्यबाट नै कानुन उल्लंघन भएको र आर्थिक अनियमिता गरेको कार्य कदापि क्षम्य हुँदैन। त्यस्तालाई कारबाही गर्न कुनै हिचकिचाहट हुने छैन।'
कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कुनै पनि कसुरको अनुसन्धान प्रक्रियालाई अनुमान र आमरायले प्रभाव पार्न नहुने धारणा राखे। कसुरको शिघ्र अनुसन्धान गरी संलग्न दोषी छिट्टै पक्राउ परोस् भन्ने आमअपेक्षा हुनु स्वभाविक भए पनि अनुसन्धान विज्ञान भएकाले समय लाग्ने उल्लेख गर्दे उनले प्रहरीको अनुसन्धान प्रक्रियालाई आमराय र अनुमानले प्रभाव पार्न नहुने जिकिर गरे।
उनले लागुऔषध, मानव बेचबिखन, विद्युतीय कसुर, अवैध हातहतियार ओसारपसार र तस्करी नै अपराधका मुख्य चुनौती भएको र त्यस्ता अपराधका सञ्जालहरु अन्तरदेशीय सम्पर्कमा विस्तार हुँदै गएको उल्लेख गरे। उनले त्यस्ता अपराधको प्रभावकारी अनुसन्धानका लागि प्रहरी संगठनको क्षमता विस्तारको साथै आवश्यक साधनस्रोतको उपलब्धता अत्यावश्यक रहेको बताए।
कार्यक्रममा कर्तव्य पालनको सिलसिलामा ज्यान गुमाएका ४३ जना प्रहरीलाई अमर प्रहरी घोषणा गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।