काठमाडौं- विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका विषयमा सरकारलाई ८ बुँदे सुझाव दिएका छन्। सामाजिक सञ्जाल फेसबुकबाट मिश्रले समनिटकता र दीर्घकालीन महत्व तथा आवश्यकतालाई नबिर्सिन आग्रह गरेका छन्।
'राष्ट्रपति सी चिनफिङलाई ह्रिदयदेखिको स्वागत छ। स्वागतका लागि रातारात काठमाडौंको मुहार जसरी फेरियो त्यो देखेर नेपालस्थित विदेशी अधिकारीहरू मनमनै मुस्काइरहेको हुनुपर्छ,' उनले लेखेका छन्, 'दुई हप्तामा फेर्न सकिने मुहार गत दुई वर्षमा फेर्न कोशिस गरेको भए सहरको सौन्दर्य कति दिगो हुने थियो। सहरको मुहार दीर्घकालका लागि यसैगरी फेरौँ र पाहुना आउँदा त्यसमा थोरै ‘शृङ्गार’ थप्ने गरौँ। नत्र सधैँ फेर्नेलाई भन्दा देख्नेलाई लाज हुने अवस्था सृजना हुन्छ।'
उनले धेरे उत्साही नहुन पनि आग्रह गरेका छन्। 'बढी उत्साहित भएर विगतका केही घटनामा जस्तो झ्वाम्लाङ्गै अंगालो हाल्ने या प्रोटकलको ख्याल नगर्ने काम नगरौँ,' उनले लेखेका छन्, 'बढी आशावादी भएर हाम्रो वैदेशिक नीतिमा सम-निकटताको दिर्घकालीन महत्व र अत्यावश्यकतालाई नबिर्सौँ।'
मिश्रले बदलिँदो विश्व राजनीतिमा नेपालको रणनीतिक महत्व सर्वशक्तिमान अमेरिका र उदयमान शक्ति चीन र भारत दुवैको लागि बढेको प्रष्टै देखिएको भन्दै यो चुनौती र अवसर दुवै भएको बताए। उनले पार्टीगत घेराभन्दा माथि उठेर राष्ट्रिय हितका लागि संवेदनशील, सकारात्मक, सन्तुलित र स्वाभिमानपूर्ण ढङ्गबाट परिपक्व कूटनीतिको अभ्यास गर्न पनि आग्रह गरेका छन्।
'सबैको चासो बढेका बेला पूर्वाधार विकासमा सहयोग लिनेदेखि वैदेशिक लगानी बढाउने सुनौलो अवसर मिलेको छ, हाम्रो काम गर्ने आन्तरिक क्षमता अभिवृद्धि नगर्ने हो भने हामीले प्राप्त गरेको अवसर गुमाउने छौँ,' उनले भनेका छन्, 'राष्ट्रपति सीको भ्रमणलाई दिएको जत्तिकै महत्व भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन बढाउन दिएनौँ भने भएका सम्झौताहरू लामो समयसम्म अलपत्र पर्नेछन्।'
चिनियाँ सहयोगका कारण कयौँ देशहरू ऋणको पासोमा परेका समाचारहरू आउने गरेको भन्दै उनले पुराना अनुभवबाट नेपाल सावधान हुन सक्नुपर्नेमा समेत उनले सचेत गराएका छन्। चीनबाट रूपान्तरणकारी सहयोग प्राप्त हुँदा त्यसले भारतबाट पनि त्यस्तै सहयोग आकर्षण गर्न सहयोग पुर्याउने भन्दै उनले त्यो नेपालको कुटनीतिको स्तरमा भर पर्ने उल्लेख गरेका छन्।
'भारत र चीन जसरी विकसित भइरहेका छन्, त्यसको बिचमा अवस्थित नेपालको सिर्फ दुईवटा नियति हुनसक्छ। पहिलो, ‘संवेदनशील, सकारात्मक, सन्तुलित र स्वाभिमानपूर्ण’ कुटनीतिक अभ्यासद्वारा विकासको सहयात्री बन्ने र दोस्रो- भ्रष्ट, अपरिपक्व र स्वार्थ केन्द्रित राजनीतिद्वारा नेपाललाई शक्ति राष्ट्रहरूको क्रिडास्थल बनाउने। अहिलेको नेतृत्व र प्रमुख प्रतिपक्षको लागि वैदेशिक नीतिमा सबैभन्दा ठूलो चुनौती त्यही नै हुनेछ,' उनले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।