जनकपुर- जनकपुरमा नौरथाको प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने स्थापनादेखि नै महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा कायमै छ।
यस मन्दिरमा बडादसैंको १० दिनसम्म महिला भक्तजनलाई प्रवेशमा रोक लगाउने गरिन्छ। प्राचिन मिथिलाका राजा जनककी कुलदेवी मानिएकी माता राजदेवीको मन्दिरमा पुरुष भक्तजनले पूजा गर्न पाए पनि महिलाहरूले भने १० दिनसम्म मन्दिरको झ्यालबाटै मात्र पूजा गर्ने गर्छन्।
वर्षको अन्य दिनमा महिला भक्तजनले पूजाअर्चना गरे पनि दसैंमा भने उनीहरूलाई प्रवेशमा रोक लगाउने गरिन्छ। परापूर्वकालदेखि नै यही परम्परा रहेकोले यसलाई तोड्न नमिल्ने बताउँछन्, राम मन्दिर एवं राजदेवी मन्दिरका महन्थ राम गिरी।
तर, मन्दिर जस्तो पवित्रस्थलमा समेत जातीयता र लिंगको आधारमा विभेद गरिनु पित्तृसत्तात्मक सोचलाई उजागर गरिनु रहको अधिवक्ता रेखा झा बताउँछिन्। ‘नेपालको कानुनले नै स्पष्ट गरिदिएको समानताको व्यवस्थालाई धर्मको नाममा कायम राख्नुले महिलाहरूप्रति भइरहेको सामाजिक असमानतालाई झल्काएको छ,’ उनले भनिन्।
अधिवक्ता झालगायतका महिला अधिकारकर्मीहरूले यस परम्पराविरूद्ध पटक-पटक आवाज उठाउँदै आइरहेको बताइन्।
‘हामीले दसैंको बेला राजदेवी मन्दिरमा महिलालाई किन निषेध गरिन्छ भन्ने विषयमा खुला बहसकै आह्वान गरेका थियौं, सम्बन्धित सरोकारवालालाई समेत बोलाएका थियौं’, अधिवक्ता झाले भनिन्, ‘तर सम्बन्धित राममन्दिर, जानकी मन्दिर र स्थानीय युवा क्लबहरूमध्ये कोही पनि उपस्थित भएनन्। लैंगिक समानताका लागि गरेको भाषण भाषणमै सीमित रहेको भन्ने कुरालाई यसले स्पष्ट गरेको छ।’
राममन्दिर तथा राजदेवी मन्दिरका महन्थ गिरीले भने जनताले चाहे भने यस परम्परालाई तोड्न आफूहरूलाई कुनै आपत्ति नरहेको स्पष्ट पारे।
प्रसिद्ध शक्तिपीठ राजदेवीमा प्रत्येक वर्ष हजारौं संख्यामा पूजाआजा गर्ने भक्तजनहरूको भीड लाग्ने गर्दछ। तर, नारी शक्तिलाई पूजा गर्ने स्थानमा महिलालाई नै प्रवेशमा निषेध गरिनु उनीहरूको अपमान गरिनुसरह रहेको महिला अधिकारकर्मीहरुको तर्क छ।
यस्तो छ कारण
त्रेतायुगमा राजा जनकको कुलदेवीका रुपमा पुजिँदै आएकी राजदेवीको मन्दिरमा परापूर्वकालमा पूजा गर्न एक महिला मन्दिरको भित्री भागमा प्रवेश गरेको र उनी बेपत्ता भएको जनविश्वास रहेकाले सो मन्दिरभित्र महिलाको प्रवेशमा रोक लगाइएको मन्दिरका पुजारी राम गिरीको भनाइ छ।
त्यस्तै, रजश्वला भएका महिला पनि पूजाका लागि आउने गरेकाले पनि मन्दिरमा महिलाको प्रवेशमा रोक लगाइएको हो। तान्त्रिक विधिमा पूजा हुने भएकाले पनि महिलालाई मन्दिरमा प्रवेश गर्न रोक लगाइएको हुनसक्ने केहीको अनुमान छ।
परम्परा छाडेर अहिलेसम्म कुनै पनि महिलाले सो अवधिभर भित्र पस्ने आँट नगरेको स्पष्ट पार्दै महन्थ गिरी भन्छन्, ’विसं २०२० तिर नरेशानन्द गिरी नामका महन्थले यहाँको बलिप्रथा रोकेर बली नचढाउँदा उनलाई अनिष्ट भएकाले पछि क्षमापूजा गरी बली चढाइएको थियो।’
घटस्थापनादेखि नवमीसम्म मन्दिरमा महिलाको प्रवेशमा रोक लगाउनुलाई नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रिंकु गायत्री मिश्रले धर्मको नाममा धार्मिक अन्धविश्वासको एउटा पराकाष्ठा मान्छिन्।
यसको विरोधमा जनकपुरवासीले महिलामाथिको यस्तो विभेद र छुवाछूतको अन्त्य गर्नुपर्ने माग गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।