प्रिती आले पछिल्लो समय निकै व्यस्त गायिका मध्येमा पर्छिन्। स्टेज कार्यक्रमहरूमा उनको माग बढ्दो छ। दोहोरी ब्याटलमार्फत् युवापुस्तामाझ चर्चित बनेकी उनी पूर्ण रुपमा गायनमै निर्भर भएको आफूलाई दाबी गर्छिन्। गायिका आलेसँग नेपाल लाइभका अनिल यादवले गरेको दसैंकेन्द्रित संवाद:
दसैं कसरी मनाउनुभयो?
दसैंको अघिल्लो दिनसम्म कार्यक्रम थियो। टीकाको दिन घर आएर टिका लगाएर मनाएँ।
दसैंको सबैभन्दा मनपर्ने/मन नपर्ने पक्ष के हुन्?
परिवार भेटघाट हुन्छ। रमाइलो लाग्छ। तर, चाडबाडको नाममा अलि बढी खर्चिलो पारा मन पर्दैन।
अहिलेसम्मकै सबैभन्दा अविस्मरणीय दसैँ कुन सालको लाग्छ र किन ?
पोहोर सालको दसैं क्यानडामा बित्यो। परिवारबाट टाढिएर दसैं मनाउँदा अर्कै फिल हुँदो रैछ। त्यो क्षण सम्झनामा आउँछ।
बाल्यकालको दसैँलाई कसरी सम्झिनुहुन्छ?
टीका र आशिर्वाद भन्दा पनि दक्षिणाको धेरै चासो हुन्थ्यो।
दसैँमा कत्तिको दक्षिणा प्रेमी हुनुहुन्थ्यो? अहिलेसम्म सबैभन्दा बढी दक्षिणा थापेको साल याद छ? कसले दिनुभएको थियो ?
बच्चा बेलामा दक्षिणा नै मुख्य आकर्षकको केन्न्द्र हुन्थ्यो। अहिलेसम्मको धेरै दक्षिणा भन्नु नै त्यही बच्चा बेलाको ५-१० रुपैयाँ हो। जुन अब पाउने लाख भन्दा ठूलो हुन्थ्यो।
दक्षिणाका लागि झगडा गरिन्थ्यो त?
दक्षिणाको लागि झगडाचाहिँ गरिएन।
चंगा उडाइन्थ्यो ? अहिले उडाइन्छ ?
चंगा उडाउने खासै अनुभव छैन। म गाउँमा हुर्केको निँ त। अहिले उडाउँदिन।
पिङ खेलिन्थ्यो ? रमाइलो अनुभव छ भने सेयर गर्नुस् न?
पिङ खेलिन्थ्यो। आफैं नाम्लोको पिङ हालेर भए पनि खेलिन्थ्यो।
तास खेलिन्छ ? खेलिन्छ भने बढी हारिन्छ या जितिन्छ ? सबैभन्दा बढी जितेको या हारेको क्षण?
तासमा जुटपति बाहेक अरु आउँदैन। अनि जुटपतिमा चाहिँ जितेको छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।