काठमाडौं– केही हप्ताअगाडि विरगञ्जमा एसिड आक्रमणमा परेर घाइते भएकी १४ वर्षीया मुस्कान खातुनलाई बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनले भिडियो सन्देश पठाएका छन्। हाल किर्तिपुरमा उपचार गराइरहेकी खातुनलाई अमिताभले उज्ववल विक्रम थापामार्फत भिडियो सन्देश पठाउँदै शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्।
भिडियोमा अमिताभले मुस्कानसँग घटेको घटना सुन्दा आफूलाई निकै दुःख लागेको बताएका छन्। ‘तपाईंलाई के भयो भन्ने मलाई उज्ववलले बताए,’ अमिताभले भिडियो सन्देशमा मुस्कानलाई हिम्मतवाली सम्बोधन गर्दै भनेका छन्, ‘तपाईंलाई जे भयो,त्यो निकै दर्दनाक हो। यस्तो घटना थाहा पाएर मलाई साह्रै दुःख लाग्यो।’
मुस्कानको नामको प्रशंसा गर्दै उनले थप भनेका छन्,‘तपाईंको नाम अति सुन्दर छ। तपाईंलाई छिटै निको होस्। तपाईंको अनुहारमा पनि सधैं मुस्कान छाइरहोस्,’ भिडियो सन्देशमार्फत अमिताभले अब उप्रान्त कोही पनि बालिकामाथि त्यस्तो घटना नघटास् भन्ने कामनासहित दोषी पक्राउ हुने अपेक्षा समेत राखेका छन्।
गत भदौ २० गते विरगन्जमा दुई जना युवाले खातुनलाई विद्यालयबाट घर फर्किने क्रममा पानी भनेर एसिड खुवाउने योजना बुनेका थिए। खातुनले खान नमानेपछि त्यही एसिड उनीहरुले उनको अनुहारमा छ्यापेर भागेका थिए।
त्यसयता नेपालीमात्रै नभएर बलिउड सेलिब्रेटीले पनि उनको घटनाप्रति चासो देखाउँदै शुभकामना सन्देश पठाइरहेका छन्। यसअघि बलिउड नायिका कृति सेननले मुस्कानसँग भिडियो कलमा कुरा गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेकी थिइन्। मुस्कान कृतिकी फ्यान समेत हुन्। कृतिले मुस्कानसँग चाँडै भेट्ने अपेक्षा पनि जाहेर गरेकी थिइन्।
त्यस्तै कृतीमार्फन बलिउड अभिनेता बरुण धवनले पनि मुस्कानको घटनाबारे जानकारी पाएका थिए। त्यसपछि उनले पनि भिडियो सन्देश मार्फत मुस्कानलाई भनेका थिए, ‘मुस्कान, मलाई तिम्रो बारेमा कृतिले जानकारी गराएकी थिइन्। मैले थाहा पाए अनुसार, तिमीलाई अध्ययन गर्न निकै नै मनपर्छ। तिमी ठिक भएपछि म तिमीलाई भेट्नेछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।