काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक खरिद ऐन तत्काल संशोधन गर्न संघीय सरकारसँग माग गरेका छन्।
मुख्यमन्त्री गुरुङले सार्वजनिक खरिद ऐन संघीय सरकारले संशोधन नगरेकै कारण पोखरा–कोरला सडक निर्माणको काममा ढिलाई भइरहेको पनि स्पष्ट पारे।
उनले संघीय सरकारले अनुगमनसमेत नगरिदिँदा आफ्नो प्रदेश अन्तरगतका सडक आयोजनाहरु बेवारिसे अवस्थामा रहेको उल्लेख गर्दै त्यसको अनुगमनको कामलाई अघि बढाउन संघीय सरकारलाई निर्देशन दिन संघीय संसद्को विकास तथा प्रविधि समितिलाई पनि पटक-पटक आग्रह गरे।
संघीय संसद्को विकास तथा प्रविधि समितिका पदाधिकारीसँग सोमबार पोखरामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संघीय सरकारको सहरी विकास मन्त्रालयले आवश्यक अनुगमन नगरेका कारण गण्डकी प्रदेशमा परेका मध्य-पहाडी राजमार्गको सडकखण्ड निर्माण कार्य पनि अघि बढ्न नसकेको भन्दै आक्रोश व्यक्त गरे।
मुख्यमन्त्री गुरुङले संघीय सरकारले आवश्यक कारबाही नगरेका कारण राष्ट्रिय गौरवका आयोजनाहरुको कामले तीव्रता नपाएको दावी पनि गरे। रासस/फाइल तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।