काठमाडौं- आन्तरिक राजस्व विभागअन्तर्गतको ठूला करदाता कार्यालय प्रमुख सहसचिव धनिराम शर्माको अर्थ मन्त्रालयमा सरुवा भएको छ। अर्थ मन्त्रालयले आइतबार उनको सरुवा गरेको हो। शर्माका स्थानमा कसैलाई पनि जिम्मेवारी दिइएको छैन।
डेढ वर्ष ठूला करदाता कार्यालयका प्रमुख भएका शर्मालाई अर्का सहसचिव निर्मलहरि अधिकारीको ठाउँमा ल्याउन लागिएको हो।
अधिकारीले ५८ वर्षे उमेर हदका कारण यही २१ गते अवकाश पाउँदैछन्। तर १८ गतेबाट दशैंको बिदा सुरु हुने भएकाले उनी १७ गतेबाटै बिदाइ भएर जानेछन्। अधिकारी २०३७ साल भदौ ८ गते निजामती सेवामा प्रवेश गरेका थिए।
शर्मा निजामती सेवा भित्रको युवा सहसचिवमध्येमा पर्छन्। सहसचिव भएलगत्तै अर्थ मन्त्रालयको तत्कालीन वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख बनेका उनी त्यसपछि आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बने।
आन्तरिक राजस्व विभागको उपमहानिर्देशकका रुपमा १० महिना काम गरेपछि उनको सरुवा काठमाडौं महानगरपालिकामा भयो। काठमाडौं महानगरपालिकामा सचिवलाई प्रमुख कार्यकारी बनाउने सरकारी निर्णय गरेपछि उनको सरुवा अर्थ मन्त्रालयमा भएको थियो।
२०७४ चैत २६ गते ठूला करदाता कार्यालय पुगेका उनी फेरि मन्त्रालय फर्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।