काठमाडौं- नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ।
सरकारले सोमबार राजधानीमा विशेष कार्यक्रममा आयोजना गरी नेपाललाई खुला दिसामुक्त तथा पूर्ण सरसफाइतर्फ अग्रसर नेपाल घोषणा गरिएको हो।
खुल्ला दिसामुक्त घोषणा हुने नेपाल दक्षिण एसियाकै पहिलो देश भनिएको छ।
खुला दिसामुक्त राष्ट्र घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई चाँडै सडकमानवमुक्त र भिखारीमुक्त बनाउने समेत घोषणा गरेका छन्।
यो घोषणासँग सरकारले सबै नेपालीका घरमा शौचालय बनिसकेको दाबी गरेको छ।
के सरकारले भनेझैँ नेपाल खुला दिसामुक्त राष्ट्र भएकै हो त? यसलाई स्वतन्त्र रुपमा पुष्टि गर्ने तथ्यांक उपलब्ध छैनन्।
सरकारकै दाबीलाई पत्याउने हो भने लगभग सबै नेपालीका घरमा शौचालय बनिसकेको छ।
५४ लाख घरधुरी, शौचालय बने ५६ लाख
खानेपानी तथा सरसफाइ मन्त्रालयका अनुसार १० असार २०६८ देखि ३१ भदौं २०७६ सम्म मूलतः सबै घरधुरीमा अधारभूत चर्पी निर्माण भएको छ।
मन्त्रालयका अनुसार कुल ५६ लाख ६० हजार २ सय १४ घुरधुरीमा शौचालय निर्माण भएका छन्।
२०६८ सालको जनगणना अनुसार नेपालमा कुल परिवारको संख्या ५४ लाख २७ हजार ३ सय २ पुगेको छ।
२०५८ सालको जनगणनाअनुसार ४२ लाख ५३ हजार २ सय २० परिवार सङ्ख्या थियो। जुन १० वर्षमा करिब २२ प्रतिशतले बढेको थियो। तथ्यांक अनुसार एक दशकमा करिब १० लाख घरपविारसंख्या थपिएको देखिन्छ।
यही दरमा परिवारको संख्या बढे २०७८ सालसम्म नेपालको कुल परिवार संख्या ६४ लाख पुग्ने देखिन्छ।
यद्यपि पुरै घरमा शौचालय बनेकोमा खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर आफैं पनि विश्वस्त छैनन्।
‘जिल्लाका केही घरघुरीमा अझैँ पनि चर्पी नभएका हुन सक्छन्,’ नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रममा सम्बोधन गर्दै मन्त्री मगरले भनिन्, ‘हाम्रा संस्कार र चेतनाका केही सिमाहरु पनि छन्।’
पूर्ण सरसफाइका धेरै सूचक अधुरा
नेपाललाई सोमबार खुला दिसामुक्त मात्रै होइन, पूर्ण सरसफाइतर्फ अग्रसर समेत घोषणा गरिएको छ।
संयुक्त राष्ट्रसंघले तय गरेको सन् २०३० सम्म दिगो विकासका लक्ष्या हासिल गर्न पूर्ण सरसफाइयुक्त हुनु पनि आवश्यक हुन्छ।
पूर्ण सरसफाइका ६ सूचक रहेका छन्। चर्पीको समुचित प्रयोग, व्यक्तगत सरसफाइ, सुरक्षित पानीमा पहुँच तथा प्रयोग, सुरक्षित खानाको प्रयोग, घरायसी एवं संस्थागत सरसफाइ र वातावरणीय सरसफाइ पूर्ण सरसफाइका सूचकमा पर्छन्।
नेपाललाई खुला दिसामुक्त भएको मान्ने हो भने पनि अझै पूर्ण सरसफाइको लक्ष्य भेटाउन धेरै सूचकलाई भेटाउनुपर्ने हुन्छ।
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।