रोल्पा- बडादसैंको मुखमा रोल्पाको सुलिचौर बजारमा बस दुर्घटना भएको छ। दुर्घटनामा परि बस चालकसहित २ जनाको ज्यान गएको छ। सुलिचौरबाट सिर्पतर्फ जान लागेको आशिर्वाद सेवा प्रालिको उक्त बस मोड्ने क्रममा दुर्घटना भएको हो।
दुर्घटनामा परि बसका चालक रोल्पा लुंग्री गाउपाँलिका-३, सिमगिठेका यामबहादुर घर्तीमगर र अर्का एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए। दुर्घटनामा मृत्यु भएका अर्का व्यक्तिको भने अझै पहिचान खुल्न सकेको छैन।

बस सुनिल स्मृति गाउँपालिका-३, रुइनिवाङमा रहेको जीप पार्कबाट २ सय मिटर तल लुंग्री खोलामा खसेको स्थानीय यामराज सुनारले जानकारी दिए। 'बसमा यात्रु निकै कम भएकाले ठूलो क्षति हुन पाएन,' सुनारले भने।
दुर्घटना भएको सूचना पाउने बित्तिकै इलाका प्रहरी कार्यालय सुलिचौरको टोली र स्थानीयहरुले उद्धारमा खटिएका छन्। उद्धार कार्य अझै पनि भइरहेको बताइएको छ। बसमा थप ३/४ जना यात्रु फसिरहेको स्थानीयहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।