शुक्रबार पत्रकार सम्मेलनका क्रममा खानेपानी मन्त्री मगरसहित मन्त्रालयसम्बद्ध अन्य पदाधिकारी।
काठमाडौं- सरकारले नेपाललाई आज 'खुला दिसामुक्त राष्ट्र’ घोषणा गर्दैछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा आयोजना गरिने एक विशेष कार्यक्रमका बीच नेपाललाई खुला दिशामुक्त राष्ट्र तथा पूर्ण सरसफाइतर्फ अग्रसर मुुलुकको रुपमा घोषणा गर्नेछन्। घोषणासँगै नेपाल खुला दिसामुक्त हुने पहिलो दक्षिण एसियाली राष्ट्र बन्नेछ।
खानेपानी मन्त्रालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारीसमेत गराएको थियो
खानेपानी मन्त्री विना मगरका अनुसार सामाजिक उत्थानको क्षेत्रमा निकै ठूलो उपलब्धि हासिल भएकाले राष्ट्रिय उत्सवकै रुपमा मुलुकलाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने निर्णय गरिएको हो।
सरकारले सन् २०११ बाट जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न सुरु गरेको थियो। यस अभियानले शून्य अनुदानमा घरघरमा शौचालय बनाउने कामलाई कार्यान्वयनमा ल्याएको थियो। सोही अभियानअन्तर्गत सबैभन्दा पहिला कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो।
यो अभियान स्कुल र जिल्ला तह हुँदै अघि बढाइएको थियो। अभियानमा सबै राजनीतिक दल, पेसा र व्यवसायमा संलग्न रहेकाले पनि देशलाई नै खुला दिसामुक्त घोषणा गर्नसक्ने अवस्थामा आइपुगिएको खानेपानी मन्त्रालयको भनाइ छ।
हालसम्म देशका कूल ५६ लाख ६० हजार २ सय १४ घरधुरीहरुमा शौचालयहरु बनिसकेका छन् । नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएलगत्तै त्यसको दुई दिनपछि छिमेकी मुलुक भारतले पनि आफूलाई खुला दिसामुक्त मुलुक घोषणा गर्न लागेको छ।
राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अनुसार हाल देशभर ५६ लाख ६० हजार २ सय १४ घरधुरीमा शौचालय बनेका छन्।
प्रदेश १ मा ९ लाख ६५ हजार २ सय ७२, प्रदेश २ मा ९ लाख ३३ हजार ६ सय ४९, प्रदेश ३ मा १६ लाख २२ हजार १ सय ९३ घरधुरीमा शौचालय बनेका छन्। यस्तै, गण्डकी प्रदेशमा ५ लाख ४८ हजार २ सय १०, प्रदेश ५ मा ७ लाख ९३ हजार ९ सय ९०, कर्णाली प्रदेशमा ३ लाख ७ हजार ९ सय ६५ र सुदूरपश्चिम प्रदेशमा ४ लाख ८९ हजार १२ घरधुरीमा शौचालय बनेका समितिको तथ्यांकमा जनाइएको छ।
नेपालमा खुला दिसामुक्त राष्ट्र घोषणा गरेलगत्तै सरसफाइ अभियानलाई तीव्रता दिने सरकारको योजना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।