काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुँदै नभएका विषयलाई सामाजिक सञ्जालमा भाइरल बनाएर नेतालाई हैरानी पारिएको भन्दै गुनासो पोखेका छन्।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले नेताहरुलाई मार्नुपर्ने, जिउँदै कोपर्ने, रगत पिउनुपर्छ भन्नेलाई के गर्ने भन्दै पत्रकारसँग नै जिज्ञासा राखे। उनले भने, ‘हेर्नै नसक्ने र सुन्नै नसक्ने कुराको जसरी विकास भएको छ, त्यसलाई सभ्यताको मान्यताद्वारा परास्त गर्नपर्छ।’ न्यूनतम मान्यताभन्दा बाहिर गएर विचार व्यक्त भएको प्रति उनले दुःख व्यक्त गरे।
नेताहरुले प्रतिवाद गरेर पार लाग्ने विषय नभएको जनाउँदै उनले सञ्चारकर्मीले नै गलत प्रवृत्तिलाई निरुत्साहित गर्न पनि आग्रह गरे। ‘नेतृत्वमा हुनेहरु हैरान परेशान हुने गरेका छन्। नेताको हालत के भएको होला,पत्रकारले सोच्नुहोला,’ उनको भनाइ थियो।
सामाजिक सञ्जालमा आएका विचारले पारेका पीडाबारे उनले थप भने, ‘यति झुठो प्रचार हुन्छ कि घोर अन्याय हामीलाई नै हुन्छ। हामीले कहाँ आन्दोलन गर्ने? सामाजिक सञ्जालमा खराब विचारले प्रोत्साहन पाइरहेको छ। कहिलेकाहीँ यसो हेरौ भन्ने हुन्छ। हेर्नै नसक्ने हुन्छ। आफै मात्रै खनिएको छ, खनिएको छ। कुनैकुनै कुरा यो त ठिकै लेख्यो भन्ने भए त आनन्द हुन्थ्यो नि।’
सामाजिक सञ्जाल र मिडियामा आएका नकारात्मक प्रतिक्रियाका विषयमा भारतीय परराष्ट्रमन्त्रीसँग जोडिएको विषयलाई उनले उप्काए। ‘भारतीय परराष्ट्रमन्त्री बसेको होटलमा भन्दा अन्य कुनै होटल वा निवासमा भेट्ने कुरा राख्यौं। तर त्यो मिलाउन नसकेपछि भेट भएन,’ उनले भने, 'भारतको परराष्ट्रमन्त्रीसँग भेटिएन, तर मिडियामा 'खुसुक्क भेट्यो' लेखे। होइन भन्यो कसैले सुन्नेवाला छैन।'
साइनो सम्बन्धै नभएको कुराको प्रचार हुने गरेको भन्दै उनले दुःख व्यक्त गरे।
नेपालमा सञ्चारमाध्यमको क्षेत्रमा अभुतपूर्व विकास भएको र अब अनलाइनको समय आएको बताउँदै उनले भने, ‘टिभी हेर्ने घटे। मैले पनि हेर्न छोडेँ। प्रिन्ट मिडिया ओरालो लागे। अस्तित्व धान्न धौधौ छ। हुँदाहुँदा ट्विटर/फेसबुकले अनलाइनलाई पछि पार्ने हो कि जस्तो हुँदैछ।’
पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था संविधानमा राखिएको बताउँदै उनले सरकार सामाजिक सञ्जाल वा मिडियालाई नियन्त्रण गर्ने पक्षमा नभएको प्रस्ट्याए। पूर्ण प्रेस स्वतन्तत्राविरुद्धको विधेयक आए त्यो स्विकार्य नहुनेमा विश्वस्त तुल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।