काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समितिमा आफ्नो तर्फबाट पाएका ११ जना केन्द्रीय सदस्यको नाम टुंग्याउन पूर्व फोरम लोकतान्त्रिकको बैठक डाकिएको छ।
तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले आफ्नो पक्षका नेताहरूलाई बैठकका लागि बोलाएका हुन्। बिहान ११ बजेको लागि बैठक डाकेको तत्कालीन फोरम लोकतान्त्रिका उपाध्यक्ष रामजनम चौधरीले जानकारी दिए।
उनले भने, ‘नामहरु तयार भएको छ। उहाँले-(गच्छदार) बैठकमा पेस गरेपछि टुंगो लाग्छ।’
कांग्रेसको शुक्रबार बसेको बैठकले पूर्व फोरम लोकतान्त्रिकबाट ११ जना सदस्य मनोनित गर्ने निर्णय गरेको थियो। केन्द्रीय सदस्यमा तत्कालीन उपाध्यक्ष चौधरी सहित महासचिव जितेन्द्रनारायण देव, कोषाध्यक्ष शिव गुर्माछाने, योगन्द्र चौधरी केन्द्रीय सदस्य बन्नेछन्।
कांग्रेसको केन्द्रीय सदस्यमा गणेश लामा र गीता राणालाई पनि समावेश गर्ने गच्छदारको तयारी छ। साथै, गोपाल दहित ,भारतेन्दुकुमार मल्लिक, वीरेन्द्र नेपाली, सुमित्रा थारु,नसिद सिद्धिकी, हरि न्यौपाने, यसोदा लामा, महेश कोर्मोचा लगायत केन्द्रीय सदस्यका आकांक्षी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।