काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वराजावादी र कांग्रेसलाई संकेत गर्दै प्रेतको संज्ञा दिएका छन्।
सम्पर्क समन्वय कमिटीद्धारा काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले चिल र कुखुराको उदाहरण दिदैं नेकपा 'चिल' भएको दाबी गरे। सत्तारुढ दलले उडान सुरु गरेको बताउँदै उनले भने, ‘१० लाख सदस्य भएको पार्टी एकैपटक जनताकोमा जाँदा के होला? प्रेतहरुलाई कसरी मन्सिन पर्छ हामीलाई थाहा छ।’
विगतमा पुरानो शक्तिलाई परास्त गर्दै आएको बताउँदै प्रचण्डले थपे, ‘हिजो पनि ठूलो भूतप्रेत भन्नेहरुलाई पुरेर आएका हौं। दुई/चार जनाले बकवास गर्दैमा लाखौं कार्यकर्ता भएको पार्टी चुप लागेर बस्दैन।’
उनले नेकपालाई 'हात्ती'को समेत संज्ञा दिए। ‘कथित आलोचना र बकबासहरु’सँग प्रतिवाद गर्ने उनको भनाइ छ। उनले भने, ‘स्याल कराउँदै गर्छ, हात्ती लम्कदै गर्छ।’ प्रचण्डले नेकपालाई जंगलको सिंहसँग समेत तुलना गरे।
अर्को वर्ष दसैंतिहार आउनुअघिसम्म पार्टीले ऐतिहासिक फड्को मार्ने दाबी गरे। पूर्वराजा र नेपाली कांग्रेसप्रति संकेत गर्दै उनले भने, ‘हामीलाई सस्तो टिप्पणी गर्नेहरुको हालत के होला? १० लाख सदस्य भएको पार्टीका नेता तथा कार्यकर्ताले हातेमालो गरेपछि १/२/५ वर्ष होइन। त्यस्ता कैँयौं पाँच वर्ष जनताको लोकप्रिय मतसहित नयाँ समाजवादी व्यवस्थाको निर्माण गर्नेछौं।’
पार्टी एकता प्रक्रिया ढिलो भएको उनले स्विकारे। तीन महिनामा सकिनुपर्ने एकीकरणको कार्य नसकिँदा १० लाख कार्यकर्ता निष्क्रिय भएको उनको भनाइ छ। ‘उमंगमा ह्रास आएको छ। एकीकरण ढिलो भई जिम्मेवारी नदिँदा अनलाइन, पत्रिका पढेर १० लाख निष्क्रिय भएर बस्ने अवस्था भयो,’ प्रचण्डले भने।
पार्टी एकीकरण प्रक्रिया करिब-करिब सकिएको उनको दाबी थियो। उनले भने, ‘अब हात्ती छिरिसकेको छ। २/४ घन्टामा एकीकरण प्रक्रिया सबै सकिन्छ।’ असम्भव लाग्ने विषयलाई सम्भव बनाउन सकेको दाबी गर्दै उनले हालको यात्राबारे सन्तुष्टि व्यक्त गरे। छिट्टै केन्द्रीय समितिको बैठक बसेर नयाँ स्पिरिटका साथ अभियान सुरु गर्ने उनको भनाइ छ।
विगतका राम्रा पक्षको अनुसरण गर्ने बताउँदै उनले भने, ‘मदन भण्डारीले प्रतिपादन गरेको बहुदलीय जनवादको राम्रा पक्षको अनुसरण गरिन्छ।’ (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।