डडेल्धुरा- डडेल्धुरामा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका आलिताल गाउँपालिका इन्चार्ज रिहा भएका छन्। रिहा हुनेमा जिल्लाको आलिताल गाउँपालिका-१, तोलीका ४० वर्षीय ‘आलोक’ भनिने खेमबहादुर बोहरा छन्।
गत भदौ ३१ मा प्रहरीको टोलीले उनलाई जिल्ला सदरमुकामबाट पक्राउ गरेको थियो। पक्राउ परेका उनीमाथि सार्वजनिक शान्तिविरुद्धको मुद्दा जिल्ला प्रशासनमा दर्ता गरिएको थियो। शुक्रबार जिल्ला प्रशासन कार्यालयबाट ८ हजार रुपैयाँ धरौटीमा उनी छुटेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
रिहालगत्तै नेकपा परित्याग
रिहा भए लगत्तै उनले सरकारद्वारा प्रतिबन्धित नेकपा परित्याग गर्ने घोषणासमेत गरेका छन्। शुक्रबार एक प्रेस विज्ञाप्ति जारी गर्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन्।
‘नेपाल कम्युनिस्ट पार्टीमा सहभागी भई काम गर्दै आएकोमा हाल नेपाल सरकारले सो पार्टीलाई प्रतिबन्ध लगाएको अवस्थामा सो पार्टीले बोकेको सिद्धान्तसमेत मलाई मन नपरेकाले सो पार्टीको कुनै पनि किसिमको जिम्मेवारीमा नरहने गरी पार्टी परित्याग गरिएको जानकारी गराउँदछु। साथै अब उपरान्त कानुनविपरीत वा राज्यले प्रतिबन्ध लगाएका कुनै पनि किसिमको हिंसात्मक गतिविधिमा संलग्न नहुने र स्वतन्त्रपूर्वक जीवनयापन गर्ने कुरासमेत अवगत गराउँदछु,’ बोहराद्वारा जारी विज्ञाप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।