काठमाडौं- नेपालले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने बताएको छ।
सार्क मन्त्रिपरिषद्को बिहीबार अपराह्न न्युर्योकमा भएको अनौपचारिक बैठकमा नेपालले त्यस्तो धारणा व्यक्त गरेको हो।
सार्कको वर्तमान अध्यक्ष नेपालले झण्डै पाँच वर्षदेखि उक्त जिम्मेवारी सम्हालिरहेको र १९औँ सार्क शिखर सम्मेलन हुन नसकेको सन्दर्भमा सार्कलाई गतिशील तुल्याउनुपर्नेमा जोड दिएको हो। १९ औं सार्क शिखर सम्मेलन हुन नसक्दा क्षेत्रीय सहयोगको भावनामा रुकावट आएको तथा केही मन्त्रिस्तरीय बैठक, कार्यशाला र तालिमबाहेक उल्लेख्य गति सार्कले लिन नसकेको अभिव्यक्ति पनि नेपालले बैठकमा प्रस्तुत गरेको छ।
‘सार्कको शिखर बैठक हुन सकेको छैन, सदस्य राष्ट्रले यस सम्बन्धमा उपयुक्त निर्णय नगरी नहुने भएको छ,’ बैठकको अध्यक्षता गरेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘सङ्गठन अनन्तकालसम्म निष्क्रिय रहिरह्यो भने त्यो विचित्र हुनेछ।’
सम्भावना र अवसरले परिपूर्ण दक्षिण एसियाको सामाजिक–आर्थिक भूदृश्य रुपान्तरणका लागि क्षेत्रीयस्तरमा प्रभावकारी सहयोग अपरिहार्य भएको मन्त्री ज्ञवालीले बताए। उनले गरिबी, असमानता, अल्पविकास, जलवायु परिवर्तन र प्राकृतिक विपत्तिजस्ता अनेकौँ चुनौतीले गाँजेको यथार्थ सुनाउँदै तिनको प्रभावकारी सम्बोधनका निम्ति सुदृढ सहयोग अत्यावश्यक भएको बताए।

परराष्ट्रमन्त्रीले ज्ञवालीले भने, ‘चौँतीस वर्षअघि हाम्रा नेताले शान्त, समृद्ध र सुखी दक्षिण एशियाको परिकल्पना गरेर त्यो लक्ष्यमा पुग्न सार्क स्थापना गरेका हुन्, त्यो परिकल्पना साकार पार्न तथा हाम्रो साझा लाभ र हितका लागि सार्कका कार्यक्रम एवम गतिविधिलाई कार्यान्वयन गर्नुको विकल्प छैन।’
एकीकृत दक्षिण एसिया, आर्थिक परस्पर निर्भरता, एसियाली आर्थिक सङ्घ, शान्ति सुरक्षा र यो क्षेत्रको समृद्धि प्राप्तिका लागि सुदृढ एवं विस्तारित सहयोग, आपसी विश्वास र मैत्री अपरिहार्य भएको मन्त्री ज्ञवालीले बताए।
सार्कको १४औँ महासचिवको नियुक्ति तथा आगामी फागुन १८ गतेदेखि नयाँ महासचिवको पदबहालीबारे पनि बैठकमा विचारविमर्श गरिएको थियो। बैठकले श्रीलङ्काली महासचिवलाई अनुमोदन पनि गरेको छ। बैठकमा श्रीलङ्का र बङ्गलादेशबाहेक सबै सदस्य देशका परराष्ट्रमन्त्री सहभागी थिए। भारत र पाकिस्तानका विदेशमन्त्री भने बैठकमा एकसाथ सहभागी भएनन्।
शिखर सम्मेलन गर्न तयार छौं : पाकिस्तान
यसैबीच सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुरा गर्दै पाकिस्तानका विदेशमन्त्री साह मोहम्मद कुरेसीले १९औँ सार्क शिखर सम्मेलन जुनसुकै समयमा आयोजना गर्न आफ्नो देश तयार रहेको जानकारी दिएका छन्। उनले सबै सदस्य देशलाई मान्य र उपयुक्त हुने समयमा कूटनीतिक माध्यमबाट सम्मेलनको मिति प्रस्ताव गरिने बताए।
त्यसैगरी मालदिभ्सका विदेशमन्त्री अब्दुल्लाह साहिदले सार्कलाई गति दिनुपर्नेमा जोड दिँदै क्षेत्रीय एकताको भावनालाई मर्न दिनु नहुने बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।