लिस्बोन- गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी विश्व सम्मेलनमा पोर्चुगलका शम्भु गौतमले युरोप क्षेत्रीय उप-संयोजक पदका लागि उम्मेदवारी दिने भएका छन्।
आगामी अक्टोवर काठमाडौंमा हुने सम्मेलनले दुई वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ। एक दशकदेखि पोर्चुगल लगायत विभिन्न युरोेपेली देशहरूमा नेपाली हस्तकला सामानको व्यवसाय गर्दै आएका गौतम नेपाल चेम्वर अफ कमर्सका पोर्चुगल प्रतिनिधि समेत हुन्।
एनआरएनए पोर्चुगलमा पूर्व-उपाध्यक्ष समेत रहेका गौतम आफू युरोप उप-संयोजक पदको लागि योग्य उम्मेदवार रहेको दाबी गर्छन्। आफ्नो उम्मेदवारी समग्र युरोपवासी नेपालीको भलाइका लागि रहेको गौतमले बताएका छन्।
आफ्नो दुई वर्षे कार्यकालमा युरोपमा बसोबास गर्ने लाखौं नेपालीका समस्यामा केन्द्रित रहने उनले जानकारी गराए। नेपाली हस्तकलालाई युरोपभर प्रवर्द्धन गर्न मरीमेटेर लाग्ने गौतम बताउँछन्। युरोपमा रहेका गैर आवासीय नेपाली माझ लोकप्रिय रहेका गौतम काभ्रे जिल्लामा जन्मेका हुन्।
एनआरएनको आगामी विश्व सम्मेलनका लागि विस्तारै माहोल तातीरहेका बेला विभिन्न पदहरूमा उम्मेदवारी घोषणाको क्रम जारी छ। अध्यक्ष पदका लागि यस पटक बेलायतका कूल आचार्य र जर्मनीका कुमार पन्तको भिडन्त निश्चित भएको छ । दुबैले आ आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्। आचार्यलाई कांग्रेस निकट मानिन्छ भने पन्त अहिलेसम्म राजनैतिक रुपमा खुलेर आएका छैनन्।
युरोप क्षेत्रीय संयोजकमा भने पोर्चुगलकै पूर्ण हमालको चर्चा छ। हमाल सर्वसम्मत् रुपमा आफूले नेतृत्व पाएमा जिम्मेवारी बहन गर्न तयार रहेपनि चुनावी प्रतिष्पर्धामा जाने सोचमा नरहेको उनका निकटवर्तीहरू बताउँछन्। एनआरएनएका परिकल्पनाकार मध्येका एक हमाल नेपाली कांग्रेस निकट हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।